
काठमाडौं – आफ्नो सन्तानका लागि आमाको ममता कुन हदसम्म पुग्न सक्छ भन्ने कुरा भारतको उत्तर प्रदेशमा देखिएको छ ।
लखनउको क्वीन मेरी अस्पतालमा एक हप्ताअघि एक महिलाले बच्चा जन्माएकी थिइन् तर बच्चाको अवस्था नाजुक भएकाले उसलाई ट्रमा सेन्टरको एनआईसीयूमा भर्ना गरियो । बच्चालाई तुरुन्तै आमाको दूध दिनुपर्ने थियो तर ब्रेस्ट पम्पिङ गर्दा पनि दूध निस्केन ।
त्यसपछि महिलालाई काउन्सेलिङ गरेर ट्रमा सेन्टरका चिकित्सकलाई बच्चाको फोटो मगाउन लगाइयो ।
महिलालाई मोबाइल फोनमा बच्चाको फोटो देखाएर तिम्रो नानीलाई दूध चाहिएको छ भनियो । फोटो देख्नेबित्तिकै महिला रुन थालिन् र दूध आउन थाल्यो । त्यही दूध ट्रमा सेन्टर पठाएर बच्चालाई दिइयो ।
क्वीन मेरीकी डा स्मृति अग्रवालले बताएअनुसार, कहिलेकाहीँ समयमै आमाको दूध आइदिँदैन । महिलामा प्रोल्याक्टिन हर्मोनले दूध बनाउँछ र अक्सिटोसिन हर्मोनले दूध निकाल्छ । कहिलेकाहीँ बच्चा जन्माउँदाको स्ट्रेस वा अन्य कारणले हर्मोनमा कमी आउँछ र आमाको दूध निस्कँदैन ।
यस्तो अवस्था आएमा आमालाई बच्चाप्रतिको भावना जगाउन लगाइन्छ । कहिलेकाहीँ आमालाई बच्चा छुन पनि लगाइन्छ । यस्तो स्थितिमा प्रायः हर्मोन सक्रिय हुन्छन् ।
अहिलेको केसमा बच्चा आमाकहाँ पुग्न सक्ने अवस्थामा थिएन त्यसैले उसको फोटो देखाएर उसको बारेमा आमालाई बताइएको चिकित्सकको भनाइ छ ।
अहिले आमा र बच्चा दुवै स्वस्थ छन् । बच्चालाई क्वीन मेरीमा शिफ्ट गरिएको छ । छिट्टै दुवैलाई डिस्चार्ज गरिनेछ ।
एजेन्सी