
काठमाडौं – काठमाडौं उपत्यकाका सरकारी अस्पताल क्षेत्रमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा कडाइ गरिने भएको छ ।
समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत काठमाडौंका वीर अस्पताल, टिचिङ अस्पताल, गंगालाल अस्पताल, कान्ति बाल अस्पताल, कीर्तिपुर अस्पताल, महिला तथा प्रसुती गृह थापाथली लगायत १० अस्पताल आसपासमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थहरू किनबेच तथा सेवन गर्न कडाइका साथ निषेध गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले बताए ।
सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने व्यवस्था त यसअघिबाटै गरिएको हो, तर त्यसमा पूर्ण सफलता हात पार्न कठिन भइरहेका बेला प्रहरीले अस्पताल आसपासबाट त्यसलाई कडाइका साथ कार्यान्वयनमा लैजान लागेको एसएसपी लामाले बताए ।
पहिलो चरणमा जनचेतनामूलक होडिङबोर्ड राख्ने र दोस्रो चरणमा माइकिङद्वारा जनाकारी गराउने प्रहरीको तयारी छ । अस्पताल वरपरका पसलहरूलाई सुर्तीजन्य पदार्थहरू नराख्न र मध्यपान तथा सुर्तीजन्य पदार्थहरू सेवन नगर्न आग्रह गर्ने कार्यक्रम पनि रहेको प्रहरीले जनाएको छ ।
त्यसपछि पनि सेवन गरेको पाइएमा ‘सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, २०६८’ बमोजिम कारवाही गर्ने एसएपी लामाले बताए ।
यो कार्यक्रम स्थानीयसँगको सहकार्यमा प्रहरीले सञ्चालन गर्नेछ ।
प्रहरीको घरदैलो कार्यक्रम
प्रहरीले काठमाडौं उपत्यकामा घरदैलो कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
उपत्यकाका १४ वटा प्रहरी वृत्तमार्फत् ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारा सहित समुदाय–साझेदारी कार्यक्रमअन्तर्गत घरदैलो कार्यक्रम गर्दै आएको हो ।
यस कार्यक्रम अन्तर्गत काठमाडौंका घरधनीकोमा आकस्मिक नम्बर, महानगरीय प्रहरी परिसरका प्रमुख र आ–आफ्नो क्षेत्रको प्रहरीको नम्बर सहितको प्लेकार्ड टाँसिरहेको छ ।
यसले घरवरपर भएका घटनामा छिटोभन्दा छिटो प्रहरीलाई जनाकारी आउने र अपराध नियन्त्रणमा सहयोग पुग्ने एसएसपी लामाले बताए ।
वैशाख १६ गतेसम्म २६ हजार ४ सय ३० घरमा प्रहरीको उपस्थिति भइसकेको छ । काठमाडौं लगभग ५ लाखदेखि ६ लाख घर रहेको भन्दै प्रहरीले अरू घरमा पनि घरदैलो कार्यक्रम जारी रहेको जनाएको छ ।
स्थानीय तहको सहकार्यमा प्रहरीले घरदैलो सँगसँगै घरबेटीको विवरण पनि लिइरहेको छ ।
घरबेटीले आफ्नो नाम, परिवार संख्या, घरभाडामा बस्ने भाडावालको विवरण पनि संकलन गरिहेको लामाले बताए । तर घरबेटीको विवरण गोप्य रहने प्रहरीले जनाएको छ ।