
काठमाडौँ–प्रहरीलाई हातपात गर्ने चार जना आज पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारीक्लब नजीक ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्ने काठमाडौँ बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठसहित चार आज बिहान पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा होहल्ला गरी अशान्ति फैलाउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै विप्लव समूहका दुई कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन् । भोजपुरको भैँसीपङ्खाका दीपचन्द्र राई र रमेश राईले रिहा भएसँगै आज पार्टी परित्याग गरेका हुन्।
विप्लव समूहमा संलग्न भई विभिन्न गैरकानूनी क्रियाकलापमा लागेको भन्दै दुवै जनालाई प्रहरीले गत चैत २३ गते पक्राउ गरेको थियो । हिरासतमा रहेका दुवैलाई जिल्ला प्रशासन कार्यालयले रु छ हजार धरौटीमा रिहा गरेको हो ।
प्रेस विज्ञप्तिमार्फत आफूहरु पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको बताएका हुन् ।