
गोरखा- गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ ।
भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मंगलवार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, '५० प्रतिशत मानिस घरभित्र छिरिसकेका छन्, ३० प्रतिशत घर बन्दैछन्, कतिपय विविध समस्या रहेकाले समाधानमा लागेका छौं ।'
एनसेटले भूकम्प गएको दिन वैशाख १२ देखि काठमाडौंको भैँसेपाटीस्थित कार्यालयमा भूकम्पपछिको पुनःनिर्माण अवस्थाको बारेमा फोटो प्रदर्शनी गरेको थियो । एनसेटले काठमाडौं, नुवाकोट, दोलखा र धादिङमा काम गर्दै आएको छ । सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५६ प्रतिशत स्कूल निर्माण सम्पन्न भइसकेको तर पुरातात्विक क्षेत्रमा कम काम भए पनि अहिले गति लिएको जानकारी दिए । रानीपोखरीको विषयमा उत्पन्न समस्या समाधान गर्दै निकासको बाटोमा लागेको समेत उनले बताए ।
विगतमा एनसेटसँगको सहयोगमा पुनःनिर्माण मापदण्ड, विधि र नीति तय गरेको र अहिले हेर्दा सो काम सही रहेको जिकिर गर्दै उनले सबैको सहयोग भयो भने पुनःनिर्माण सम्पन्न हुने बताए ।
विगतमा प्रभावितलाई एकमुष्ट रकम दिन तीव्र दबाब आएको प्रसंग कोट्याउँदै उनले विगतमा ठूलो सङ्घर्षका कारण त्यो काम रोकिएर प्रक्रियागतरूपमा गएकाले अहिले महत्वपूर्ण उपलब्धि भएको बताए । एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले पुनःनिर्माणको काम प्रभावकारी रहेको बताउँदै समुदायको सहयोग उल्लेखनीय रहेको बताए ।
संस्थाका महासचिव आमोदमणि दीक्षितले पुनःनिर्माणमा नेपालको शीर उँचो रहेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर नेपालको ज्ञान सीपलाई विश्वव्यापी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ चित्रकार किरण मानन्धर, साहित्यकार शान्तदास मानन्धरलगायतले मन्तव्य राखेका थिए ।