
काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छन् । स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर एक दिनअघि नै स्वदेश फर्किएकी हुन् ।
राष्ट्रपति त्रिभुवन विमानस्थलमा आइपुग्दा प्रधानमन्त्री, उपराष्ट्रपति लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए ।
निर्धारित तालिकामा उनी बिहीबारमात्रै स्वदेश फर्कने कार्यक्रम थियो । बेइजिङको औपचारिक कार्यक्रम सकेर मङ्गलबार तिब्बत पुगेकी भण्डारी बाँकी सबै औपचारिक कार्यक्रम स्थगित गर्दै काठमाडौं फर्केकी हुन् ।
उनी चार्टर विमानबाट ल्हासा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन् ।
हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपतिले भ्रमण छोट्याएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
फोरम र नयाँशक्तिबीच एकताको तयारी
सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ ।
उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गरेका उपेन्द्र यादव र डा बाबुराम भट्टराईले नेतृत्वको गरेको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको फोरमका निर्वाचन समितिका प्रमुख शिवजी यादवले जानकारी दिए ।
यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ । शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ । तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन । निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ ।
श्रमिक दिवस मनाइयो
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो ।
विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रूपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
यसवर्ष मुलुकभर क्रियाशील ट्रेड युनियनको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को अगुवाइमा सबै मजदुरले एकै थलोमा दिवस मनाएका छन् । राजधानीको भृकुटीमण्डपमा भएको सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल लगायतले सम्बोधन गरेका थिए ।
शुल्क फिर्ता भएन
निजी विद्यालयको सङ्ख्या बढी भएको काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले यस शैक्षिकसत्रका लागि वृद्धि गरिएको शुल्क फिर्ता गर्न यही वैशाख ११ गते निर्देशन दिने निर्णय गरेको थियो । अधिकांश विद्यालयले भर्ना पूरा गरिसकेकाले सो शुल्क फिर्ता हुने सम्भावना देखिँदैन । विगतमा पनि भर्ना सकिएपछि विद्यार्थी सङ्गठनले आन्दोलन गरेपछि शिक्षा मन्त्रालयसँगको सहमतिमा आफूखुशी बढाइएको शुल्क आगामी महीनाको शुल्कमा समायोजन गर्ने भनिए पनि कार्यान्वयन भएको थिएन ।
कामपाको शिक्षा विभागले क, ख, ग र घ वर्गका आधारमा शुल्क निर्धारणका लागि केन्द्र सरकारको विगतको मापदण्डका आधारलाई पछ्याए पनि शुल्कको अनुगमन भई फिर्ताको प्रक्रिया आरम्भ भएको छैन । कामपाका शिक्षा विभाग प्रमुख निर्मला केसीले सम्बन्धित पक्षको परामर्शमै निर्देशन भएकाले वृद्धि भएको शुल्क फिर्ता हुने जिकिर गरिन् ।
निजी विद्यालयले वार्षिक शुल्क, ट्युसन शुल्क, खाना, बस शुल्क, परीक्षा शुल्क र विविध शीर्षकमा मनोमानी शुल्क लिँदै आएका छन् । कामपाले यस शैक्षिकसत्र २०७६ का लागि कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम मासिक शुल्क रु एक हजार ६३०, ‘ग’ वर्गको रु दुई हजार, ‘ख’ वर्गको रु दुई हजार ४१८ र ‘क’ वर्गको रु दुई हजार, ८१२ निर्धारण गरेको थियो । कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गको अधिकतम शुल्क रु एक हजार ९०१, ‘ग’ वर्गको रु दुई हजार ३५१, ‘ख’ वर्गको रु दुई हजार ८०१ र ‘क’ वर्गको रु तीन हजार २५१ कायम गरेको छ । कक्षा ९ र १० मा ‘घ’ वर्गको विद्यालयले रु तीन हजार ५३७ अधिकतम् शुल्क लिन पाउने निर्णय गरिएको थियो । ‘ग’ वर्गका लागि तीन हजार ४९, ‘ख’ वर्गका लागि रु तीन हजार, ७६२ र ‘क’ वर्गका लागि रु चार ३७३ अधिकतम शुल्क तोकिएको छ तर ठूला विद्यालयले यसको दोब्बर तेब्बरसम्म शुल्क लिइरहेका छन् ।
महानगरमा हाल ९१ सामुदायिक र ६४५ संस्थागत विद्यालय छन् ।
पश्चिमी वायुको प्रभावका कारण हावाहुरी
काठमाडौँ उपत्यकामा बुधबार साँझ आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा प्रभावित बनाएको छ । हावाहुरी र पानीका कारण यात्रा गरिरहेका यात्रुलाई निकै सास्ती बनायो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ध् गङ्गा नगरकोटीका अनुसार प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिए भएको हो । यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने गर्दछ । प्रि मनसुका अवस्थामा हुने यो नियमति प्रक्रिया नै हो । हावाहुरीका कारण बालाजुस्थित भाटभटेनी सुपरमार्केट नजिकै एक रुख भाच्चिदा बा ४ च १२३ नम्बरको पजेको गाडीमा सामान्य क्षति भएको महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
यसैबीच बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेको छ ।
दुर्घटनामा दुईको मृत्यु
पृथ्वीराजमार्गस्थित गल्छी गाउँपालिका–४ बेल्खुमा मोटरसाइकल र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि आएको अर्को सवारी साधनले मोटर साइकलमा सवार दुई जनालाई ठक्कर दिँदाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चितवनबाट काठमाडाँैतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र काठमाडाँैबाट नवलपरासीतर्फ आउँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाडाँै जिल्ला चन्द्रागिरि नगरपालिका–५ का २९ वर्षीय राज महर्जन र सोही नगरपालिका वडा नं १२ का ३० वर्षीय कविकुमार महर्जन सडकमा लडे । सोही बेला ना ६ ख ५६१४ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।
प्रदेशले कैद तोक्न नपाउने
केन्द्र सरकारले अपराधको अनुसन्धान र दण्ड सजायँ निर्धारणमा प्रदेशको भूमिका खुम्च्याउने प्रयत्न थालेको छ । कैद सजाय हुने कुनैपनि विषयमा प्रदेशले कानुन बनाउन नपाउने संघको प्रस्ताव छ ।
सरकारले ल्याएको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धसम्बन्धी विधेयकमा फौजदारी कसुरका रुपमा कायम हुने विषयलाई संघ मातहत राखिएको छ । फैजदारी कसुरका रुपमा कायम गरी कैद सजाय व्यवस्था गर्ने विषयको कानुन संघ सरकारले मात्रै बनाउन पाउने भनिएको छ । त्यसो हुँदा प्रदेश कानुनअनुसार कुनै अपराध कार्यमा संलग्नलाई कैद, जरिवानालगायतका सजाय तोक्न नपाइने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
समान ज्याला पाउनुपर्ने माग
भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले समान कामको समान ज्याला पाउनुपर्ने माग गरेको छ । समितिले बुधबार धर्ना कार्यक्रम गर्दै कार्य अवधि (ड्युटी) मा मारिएका, घाइते तथा अपाङ्गता भएका ब्रिटिस गार्खाले ब्रिटिस सरहनै समान सुविधा पाउनुपर्ने माग गरेको हो ।
त्यसैगरी अन्य पेन्सन जस्तै विधवा, मेडिकल सबैखाले खालका पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाले क्षतिपूर्तिको एकमुष्ट रकम पाउनुपर्ने, सोही समयमा नोकरीबाट बर्खास्त भएकाले ब्रिटिस सरह पेन्सन पाउनुपर्ने माग गरिएको छ ।
कार्यक्रमका संयोजक कृष्णबहादुर राईका अनुसार यस विषयमा नेपाल सरकारले पहल गर्नुपर्छ । सो समस्याबाट पीडित हाल २८ हजार नेपाली ब्रिटिस सैनिक छन् । तीस वर्ष भन्दा बढी उमेरका ब्रिटिस गोर्खाका छोराछोरी सबैलाई बिना सर्त बेलायती भिसा दिनुपर्ने माग पनि राखिएको छ ।
नेपाल सरकार र ब्रिटिस सरकारबीच उच्चस्तरीय वार्ता टोली गठन भएको ११ महीना बितिसक्दासम्म समस्या समाधान नभएकाले सरकारलाई दबाबस्वरुप धर्ना कार्यक्रम गरिएको संयोजक राईले बताए ।
तातोपानी नाका खुलाउन तीव्रगतिमा काम
विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको हो ।
बन्द नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह बुधबार हस्तान्तरण गरिने भनिए पनि काममा ढिलाइ भएकाले एक महीनापछि सरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव रविशङ्कर सैंजुले बताए ।
एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो ।