
काठमाडौं –लिभरपूलका प्रशिक्षक युर्गेन क्लोपले क्याम्प नाओ कुनै मन्दिर नभएको बयान दिएको भए पनि हिजो राति उनले बार्सिलोनाका लगभग १ लाख प्रशंसकहरूले आफ्नो भगवान् लियोनेल मेस्सीका अगाडि झुकेको दृश्य हेरे । उनै मेस्सीको प्रेरणामा बुधवार राति बार्सिलोनाले लिभरपूललाई ३–० को अन्तरले हरायो र च्याम्पियन्स लीगको फाइनलमा पुग्न एक पाइला बढायो ।
यस ग्रहकै सर्वोत्कृष्ट अनि फूटबल इतिहासकै महानतम खेलाडी मेस्सीले रोमाञ्चक स्थितिमा रहेको खेललाई सहजै बार्सिलोनाको पक्षमा पारे । उनले दुई गोल गरेर बहादुर लिभरपूल टोलीलाई सेमिफाइनलको पहिलो चरणको खेलमा ध्वस्त पारे ।
लुइस सुआरेजले बार्सिलोनाका लागि खेलमा खाता खोलेको भए पनि क्याटालनहरूले खेल जित्नका लागि प्रार्थना गर्नुपरेको थियो किनकि लिभरपूलका मोहम्मद सलाह र सादियो मानेले बार्सिलोनालाई बीचमा एकचोटि अत्याएका थिए ।
तर उनीहरूको प्रदर्शनको कुनै अर्थ रहेन किनकि मेस्सीले सही स्थानमा सही समयमा पुगेर आश्चर्यचकित बनाउने फ्रीकिक प्रहार गरी लिभरपूलका गोलकीपर एलिसनलाई जिल्ल बनाए ।
यससँगै बार्सिलोनाका लागि मेस्सीले सबै प्रतियोगितामा गरी ६०० औं गोल गरे । तर बार्सिलोनाका यी भगवानले धेरै कीर्तिमान बनाइसकेकाले यस्ता उपलब्धि सामान्य लाग्न थालेका छन् ।
खेलको आरम्भदेखि नै मेस्सीले शतप्रतिशत खेल प्रदर्शन गरे । उनलाई विगत दुई हप्तामा पर्याप्त विश्राम दिइएको थियो ।
च्याम्यिन्स लीग जित्ने मेस्सीको सपना हो अनि यी भगवान् जे चाहन्छन्, त्यो पाउँछन् ।
मेस्सीका बफादार शिष्य सुआरेजले बार्सिलोनालाई खेलमा अग्रता दिलाउँदा अद्भुत प्रदर्शन गरे र उनको जुनून हेर्दा उनी पनि मेस्सी जत्तिकै ट्रफीका लागि मरिमेटेर लागिरहेका छन् भन्ने देखिन्छ ।
‘हामीहरू मैदानमा पसेपछि कुनै मित्रता हुने छैन, कुनै साथी हुने छैनन्, कुनै पनि प्रेमिल सम्झना हुने छैनन्,’ सुआरेजले अघिल्लो हप्ता भनेका थिए । अनि उनले त्यो कुरा प्रमाणित गरेर देखाए ।
सुआरेज लिभरपूलबाट बार्सिलोना आएका हुन् र उनले आफ्नो पुरानो क्लबलाई आनन्दका साथ छिन्नभिन्न बनाए ।
यी उरुग्वेली खेलाडीले शार्क माछाको जस्तो कातिल सोच राख्ने गरेका छन् र उनी पर्फेक्ट ढंगले दौडिएर जोर्डी अल्बाको सुन्दर क्रसलाई गोलमा परिणत गर्न चुकेनन् ।
यो उच्च गुणस्तरको गोल थियो तर सुआरेजले च्याम्यिन्स लीगको खेलमा सन् २०१८ को अप्रिल महिनापछि पहिलोपटक गोल गरेका हुन् । त्यतिखेर पनि उनले एलिसनलाई नै छक्याएर गोल गरेका थिए । एलिसन त्यतिखेर रोमामा थिए ।
सुआरेजले गोलको उत्सव निकै चर्को तरिकाले मनाए र आफूले पुरानो क्लबविरुद्ध यसैगरी उत्सव मनाउँछु भनी गरेको वाचा पूरा गरे ।
सुआरेजको गोलपछि बार्सिलोनाले खेलको गति घटाउन खोजेको थियो । पहिलो आधा घन्टापछि लिभरपूलले बार्सिलोनामाथि आक्रमणको तानाबाना बुनिरह्यो ।
मानेले नियमित रूपमा जेरार्ड पिके र सर्जी रोबर्टोबीचको ग्याप भेट्ने अनि अघि बढ्ने काम गरिरहेपछि बार्सिलोनाका ती दुई खेलाडीले पिचमै बसेर कसरी मानेलाई रोक्ने होला भनी सल्लाह गरे ।
पहिलो हाफमा गोल गर्ने राम्रो अवसर पाएको भए पनि मानेले जोर्डन हेन्डरसनको सुन्दर पास खेर फाले । बार्सिलोनाको डिफेन्सले आनन्दको श्वास फे¥यो ।
अर्नेस्टो भाल्भेर्देले दोस्रो हाफमा मानेलाई रोक्न तत्कालै कदम चाले । उनले फिलिप्पे कउटिन्होलाई झिके । कउटिन्होले राम्रै शुरूआत गरेका थिए तर पछि चाहिँ उनको खेल खस्किँदै गयो र उनलाई आफ्नै प्रशंसकहरूले बिल्ला गरे । उनको ठाउँमा नेल्सन सेमेडो आए ।
उनी आएपछि रोबर्टोलाई मिडफील्डमा बढाइयो तर उनले मानेलाई रोक्नका लागि डिफेन्डरकै भूमिका निर्वाह गरे । बार्साले मानेलाई पूरै रोक्यो ।
यसो हुँदा आर्टुरो भिडाललाई बार्सिलोनाको लेफ्टमा स्वतन्त्रताका साथ खेल्न सहज भयो र उनले सलाहलाई रोक्न पाए । जोर्डी अल्बाले सलाहलाई रोक्नका लागि पूरै शक्ति लगाइरहेको अवस्थामा उनलाई भिडालले सहायता गरे ।
लिभरपूलका दुई विंगरहरू सलाह र माने उत्कृष्ट खेलाडी हुन् र गोल पनि गरिरहन्छन् तर उनीहरूलाई मेस्सीसँग तुलना गर्न मिल्दैन । मेस्सी उनीहरूभन्दा निकै महान् छन् भन्ने बुधवार रातिको खेलले नै देखायो ।

च्याम्पियन्स लीगका लागि बार्सिलोनाले बनाएको रणनीति मेस्सी वरिपरि बुनिएको छ । उनीहरूले आफ्नो विपक्षीभन्दा राम्रो खेल देखाउन सकेनन् भने पनि मेस्सीले क्लबलाई बचाइहाल्छन् ।
बार्सिलोनाका लागि सन् २०१५ को च्याम्पियन्स लीगको सेमिफाइनलको पहिलो चरणमा बायर्न म्युनिखविरुद्धको खेलपछिको सबभन्दा महत्त्वपूर्ण खेल हिजोकै थियो । त्यस खेलमा झैं हिजो पनि मेस्सीले निर्णायक मोडमा आफ्नो जादू देखाए ।
मेस्सीको पहिलो गोल सामान्य थियो तर दोस्रो गोल चाहिँ ईश्वरीय जस्तो थियो । उनले चट्याङ पारेजस्तो गरी प्रहार गरेको बल माथिको कुना च्यापेर पोस्टभित्र पस्यो । यो खेल हेरेपछि मेस्सीको क्षमतामा शंका गर्नेहरूले आफ्नो पापलाई क्षमा गर्न ईश्वरसँग प्रार्थना गरे हुन्छ ।
खेलको अन्तिम क्षणमा सुआरेज र उस्मान डेम्बेले दुवैले अवसर खेर फाल्दा बार्सिलोनाको चौथो गोल हुन पाएन । तर मेस्सीको अद्भुत खेलपछि सबैको दिमाग चकराएको अवस्था थियो त्यो ।
मेस्सीले च्याम्पियन्स लीग जित्ने सपना देखेका छन् अनि यस्तो फर्ममा हुँदा उनको सपना साकार गर्नबाट रोक्ने तागत कसमा छ र ?
गोल डट्कममा प्रकाशित रिक शर्माको रिपोर्ट