
काठमाडौं – म्यान्मारको अशान्त पश्चिमी राज्य रखाइनमा बिहीवार सुरक्षाबलले कम्तीमा ६ जनालाई गोली हानी मारेका छन् । सैनिक र प्रहरीले एउटा स्कूलमा सयौं व्यक्तिलाई हिरासतमा लिएको एक सैन्य प्रवक्ताले बताए ।
विद्रोही समूह अराकान आर्मीका सदस्यको खोजीका क्रममा सैनिकहरूले लगभग २७५ मानिसलाई धरपकड गरेको ब्रिगेडियर जर्नेल ज मिन टुनले बताए ।
गोली किन हानियो भन्ने विषयमा स्पष्ट कुरा बाहिर आएको छैन । पत्रकार र सहायता संस्थाहरूले जान नसक्ने ठाउँमा घटना भएको हो ।
सैन्य प्रवक्ता ज मिन टुनका अनुसार, हिरासतमा लिइएकाहरूले एकाबिहानै हतियारमा कब्जा गर्न खोजेपछि सुरक्षाबल भीडमा गोली हान्न बाध्य भएका हुन् ।
‘हामीले उनीहरूलाई मौखिक रूपमा सचेत गराएका थियौं । त्यसपछि हामीले चेतावनी दिनका लागि हावामा गोली चलायौं । तर उनीहरू डेग चलेनन् त्यसैले गोली चलाइयो,’ उनले भने ।
सन् २०१७ मा लडाकूहरूको आक्रमणपछि म्यान्मार सैनिकले कारवाही चलाउँदा ७ लाख ३० हजार रोहिंग्या मुसलमानहरू भागेर बंगलादेश पुगेका थिए । त्यसपछि यो क्षेत्रप्रति विश्वको ध्यान तानिएको छ । संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्मीहरूले सामूहिक हत्या, सामूहिक बलात्कार र आगजनीका मुद्दामा वरिष्ठ सैन्य अधिकारीहरूलाई अभियोजन लगाइनुपर्ने आह्वान गरेका छन् । सेनाले भने व्यापक रूपमा मानवअधिकार उल्लंघन गरिएको आरोप अस्वीकार गर्दै आएको छ ।
हालैका दिनमा सेना र आराकान आर्मी नामक विद्रोही समूहबीचको झडपमा नागरिक परेका छन् । आराकान आर्मीले राज्यको थप स्वायत्तताका लागि संघर्ष गरिरहेको छ ।
रोयटर्सबाट