०७ असार २०८३, आइतबार

‘फानी’को असरबाट जोगिनु जरुरी

बैशाख २१, २०७६
‘फानी’को असरबाट जोगिनु जरुरी

काठमाडौं–दुई दिन अघिसम्म चर्केको घामसहित राजधानीमा गर्मी बढेको महसुस भयो । चितवन, पोखरा लगायतका क्षेत्रमा दुईदिन अघि वर्षा र हुरी आएको थियो । बिहीबार साँझ भने राजधानी लगायतका क्षेत्रमा एक्कासि वर्षा र हुरी आयो ।  शुक्रबार बिहान खुलेको आकास १० बजेपछि हुरी र वर्षामा परिणत भयो । यो असर नेपालमा वर्षा भित्रिएको सङ्केत वा प्रिमनसुनको नभई बङ्गालको खाडीमा उत्पन्न भएको समुद्री आँधीको हो । 
पहाडी र अन्य क्षेत्रमा वर्षा र हुरी चल्ने भए पनि हिमाली भेगमा यसले असर गर्न सक्ने जोगिन मौसमविद्ले सुझाव दिएका छन् । 
फानी नामक आँधीको बाह्य आवरणका बादल नेपालतिर सरेकाले सो क्षेत्रमा तीव्र हिमपातको अनुमान मौसमविज्ञले गरेका हुन् । “दुईदिनसम्म हिमाली भेगमा जहाज नउडाउन र पर्वतारोहण नगर्न भनेर गृहमन्त्रालयलाई जानकारी दिएका छौंँ,” 
मौसमविद् बरुण पौडेलले भने, “जमिनमा उत्रेको चक्रवात बादलका कारण नेपालमा हावाहुरी तथा चट्याङसहित पानी पर्नेक्रम दुईदिन अझै चल्नेछ ।” मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा आइतबारसम्म भारी वर्षा हुनेछ र हिमाली भेगमा हिमपात हुनेछ । पश्चिमी वायुको असर पनि यही बेला नेपालमा भित्रिदै गरेकाले त्यो क्षेत्रमा पनि बदली जारी रहनेछ । 
आइतबारदेखि देशको मध्य क्षेत्रमा र सोमबारदेखि मात्रै पूर्वी क्षेत्रमा मौसममा क्रमिक सुधार आउने सम्भावना देखिएको महाशाखाले जनाएको छ । चक्रवात, हुतहुत, फानी लगायतका विभिन्न नाम सामुद्रिक आँधीलाई भारत, बङ्गलादेश तथा श्रीलङ्काले दिएको छ । अहिलेको असर भने फानी समुद्री आँधीको हो । 
उनका अनुसार त्यो आँधीको सिधै असर नेपालमा परेको हैन । तर भारतको उडिसाहुँदै आउँदा आँधीको बाहिरी आवरणको बादलले भुँइ छोएको छ । त्यही अवस्थामा नेपाल छेउ पारेर बङ्गलादेश पुग्दै गरेको छ । 
समुद्री तह तात्दै गर्दा जब २६ डिग्रीमाथिको तापक्रम उत्पन्न हुन्छ तब आँधीले आकार लिने पौडेलले बताए । त्यसपछि न्यून चापीय रेखा बन्छ केही त्यसै हराएर जान्छ भने केही ‘डीप डिप्रेसन’मा परेर शक्तिशाली बन्छन् । समुद्रमा यस्तो आँधी सिर्जना हुने र हराउने क्रम लगातार चलिरहन्छ । तर शक्तिशाली भएपछि यो अन्यत्र विचरण गरेर वर्षा र चर्को हुरीको रुपमा बदलिन्छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्