काठमाडौं– देशभरका ७५३ स्थानीय तहमध्ये ५ सय स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन् ।
ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फाराममार्फत रिक्त कर्मचारीको विवरण पठाएका हुन् । माग भई आएका पदमा विभिन्न सेवा समूहका खरिदार, नायब सुब्बा र अधिकृत स्तरका बढी छन् । देशभरका स्थानीय तहमा विभिन्न पदमा झन्डै १६ हजार कर्मचारी दरबन्दी रिक्त छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सम्पन्न भएलगत्तै स्थानीय तहमा अपुग रहेका कर्मचारीको विवरण माग गरेको थियो । केन्द्रीय लोकसेवा आयोगमार्फत स्थानीय तहको रिक्त दरबन्दीमा पदपूर्ति गर्ने उद्देश्यसहित सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त दरबन्दी विवरण माग गरेको हो ।
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वैशाख महिनाको अन्त्यसम्ममा ठूलो संख्यामा कर्मचारी भर्ना खुल्ने बताएका छन् । राजधानी दैनिकमा खरब छापिएकाे छ ।