
बुटवल – बुटवल–८ सुख्खानगरमा एउटा आश्रम छ । मानव सेवा आश्रम सञ्चालनमा आएको ५ महिना जति भयो ।
बुटवल शहरलाई सडक मानवरहित बनाउने अभियानका साथ सञ्चालन गरिएको आश्रममा अहिले ४० जना अनाथ, अपाङ्ग र असहायलाई राखिएको छ ।
मानव सेवा आश्रम सडकपेटीमा अलपत्र परेका व्यक्ति, असहाय, अपाङ्ग, मनोरोगीको आश्रयस्थल बनेको छ । २०६६ सालमा सकारात्मक सोचसँग असल चरित्र निर्माण गर्ने उद्देश्यले रामजी अधिकारी, रुपा केसी, सुमन बतौला, होमनाथ अधिकारी, नवराज केसी र डा. गोाविन्द टण्डनले शुरू गरेको अभियान हाल ६ प्रदेश, १२ जिल्लाका १४ स्थानमा मानव सेवा आश्रमका रुपमा पुगेको छ । आश्रममा ८ सय जना अनाथ, अपाङ्ग, अशक्त र असहायले आश्रय लिएका छन् ।
आश्रमका परिकल्पनाकार रामजी अधिकारीले भने, ‘हामी नेपाललाई सडक मानवरहित बनाउने अभियानमा जुटेका छौं ।’ उनले ७ वटै प्रदेश, सबै ५ वटा महानगर र सबै उपमहानगरपालिकामा आश्रम खोल्ने योजनामा रहेको जानकारी गराए ।
सडकमा कष्टकर जीवनयापन गरेका सबै उमेर समूहका व्यक्तिको उद्धार गरेर आश्रममा राखिन्छ । आश्रमकी महासचिव तथा रुपन्देही संयोजक रुपा केसी भन्छिन्, ‘अनाथ, अपाङ्ग, अशक्त र असहायलाई उद्धार गरेर आश्रममा ल्याउने र उहाँहरूको औषधि उपचार गर्ने, परिवार भेटिएमा पारिवारिक पुनर्मिलन गराउने काम गर्छाैं, परिवार नभेटिएमा आश्रम नै उहाँहरूको जीवनभर सेवा गर्छ ।’
सडकमा मानसिक सन्तुलन गुमाएका, वृद्ध भएर वा अपाङ्ग भएर वा कुनै रोगको उपचार गर्न नसकेर सडकमै अलपत्र भएका, चौतारीमै रात काट्न बाध्य भएका मानिसलाई आश्रय दिनका लागि खुलेको हो मानव सेवा आश्रम । अलपत्र अवस्थामा भेटिएका गर्भवतीले आश्रममा आएर २४ जना बच्चालाई जन्म दिएका छन् । आश्रममा सेवा गर्न ५० जना युवा सक्रिय छन् ।
२०८२ सालभित्र नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालेको संस्थाले विदेशी सहयोग लिँदैन । सरकारी, संस्थागत र व्यक्तिगत सहयोगबाटै चलेको छ । स्याहारसुसार, खानपान, औषधी उपचार लगायतका लागि मासिक ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ । यो सबै रकम सहयोगबाटै चल्छ । यसको आफ्नै आम्दानीको स्रोत छैन । ‘विभिन्न सहयोगदाताले सहयोग गर्नुहुन्छ,’ आश्रमकी रुपन्देही सहसंयोजक सरु अधिकारी भन्छिन्, ‘सहयोगीहरूकै कारण सडकमा अलपत्र जीवन बिताइरहेका मानिसलाई उद्धार गरेर सेवा गर्न सकेका छौं ।’ ४० जना अट्ने भवनको भाडा बुटवल उपमहानगरपालिकाले व्यहोर्छ ।
बुटवल उपमहानगरपालिकाले बुटवललाई सडक मानवमुक्त शहर बनाउने घोषणा गरेको र मानव सेवा आश्रमले पनि सोही लक्ष्य लिएकाले मासिक ८० हजार रुपैयाँ भाडा उपमहानगरले व्यहोर्ने गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।
‘हाम्रो र उहाँहरूको कुरा एउटै रहेछ, सडकमा अलपत्र परेका मानिसलाई आश्रय दिने,’ उनले भनिन्, ‘यो सच्चा समाजसेवा हो, त्यसैले सबैले यस्ता कार्यलाई साथ दिनुपर्छ ।’ आश्रमको भित्तामा लेखिएको छ – हामीलाई गर्व छ, मानवसेवी अभियन्ता बन्न पाएकोमा, सहाराविहीनहरूको सहारा बन्न पाएकोमा, आवाजविहीनहरूको आवाज बन्न पाएकोमा ।
यस्तो सहारा बन्न आश्रममा निःस्वार्थ भावले सहयोग गर्न सकिन्छ । सहयोगको हात अघि बढाउन आह्वान गर्दै आश्रमले भन्छ – वर्षमा १ दिन मानव सेवा आश्रममा । यसको अर्थ हो – धेरै नसकेपनि वर्षको १ दिन, आफ्नै जन्मदिनमा मानव सेवा आश्रमलाई सहयोग गरौं ।
आश्रमले १ छाक खाना खुवाउनका लागि ६ हजार १ सय रुपैयाँ लाग्ने बताउँछ । कसैले एकछाक खानावापतको सहयोग गर्न चाहेमा आश्रमलाई ६ हजार १ सय रुपैयाँ तिरे पुग्छ । आश्रम सहसंयोजक अधिकारीका अनुसार आफ्नो जन्मदिन, विवाह, ब्रतबन्ध, चौरासी, वैवाहिक कार्यक्रम, वार्षिकी, पितृकार्यजस्ता काममा पनि १ दिन वा १ छाक खुवाएर सहयोग गर्न सकिन्छ । उनी भन्छिन्, ‘यसले आफू पनि बाँचौं र अरुलाई पनि बाँच्न देऊ भन्ने उपदेशलाई बल पुर्याउँछ ।’