
काठमाडौं–नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवसायिक योजना असफल भएको छ ।
निगमको नेतृत्व परिवर्तन भएसँगै पुराना योजनालाई निरन्तरता नदिँदा र नयाँ योजना अगाडि बढाउन नसक्दा निगम धरासयी बन्दै गएको हो।
आजकाे नेपाल समाचारपत्र दैनिक लेख्छ-वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न नसकेर निगमको दायित्व २ अर्ब रुपियाँ हाराहारीमा पुगेको छ। देखिने गरी निगमको नेतृत्वले व्यावसायिक योजना अगाडि बढाउन नसकेको निगमको कर्मचारी संगठनका अध्यक्ष तारणी दाहालको भनाइ छ।
उनले वर्तमान नेतृत्वले पुराना व्यावसायिक योजना अगाडि बढाउन नसकेको टिप्पणी गरे। महालेखाले आफ्नो ५६औं वार्षिक प्रतिवेदनमा वाइडबडी विमानमा सञ्चालनको ६ महिनामै १ अर्ब ६६ करोड ३१ लाख रुपियाँ घाटा हुने अनुमान गरेको थियो।
निगमको कार्यकारी अध्यक्षमा सरकारले गत भदौ ३१ गते मदन खरेललाई नियुक्त गरेको थियो। खरेलले करिब ८ महिना निगमको नेतृत्व गरिसक्दा निगमले उपलब्धि हासिल गर्न सकेको छैन।