
काठमाडौं – रुसमा भएको विमान दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको दुःख मनाउँदै गर्दा एक एयरहोस्टेसको कामको चौतर्फी प्रशंसा भइरहेको छ ।
एयर होस्टेस तातियाना कसाटकिनाले सुझबुझपूर्ण तरिकाले अनेकौं यात्रीको ज्यान जोगाइन् । तातियानाले आगोको मुश्लो बनेको विमान खाली गर्नका लागि यात्रीहरूलाई पूरा तागत लगाएर बाहिर हुत्याइन् । उनले कैयौं यात्रुलाई कोलर समातेर प्लेन बाहिर फ्याँकिन् ।
उनले बताएअनुसार, केही मानिस ज्यान जोगाउन खोजिरहेका थिए भने केही चाहिँ आफ्नो सामान जोगाउने ध्याउन्नमा थिए । प्लेन खाली गर्ने क्रममा भीड भएपछि तातियानाले मानिसहरूलाई धकेलेर प्लेनबाहिर निकाल्नुपरेको थियो ।
उनले भनिन्, ‘मैले सबैलाई कोलर समात्दै निकालेकी थिएँ ।’
विमानको पछिल्लो ढोका खोल्ने कोशिश गर्ने क्रममा विमान कर्मचारी म्याक्सिम मोइसीभको मृत्यु भयो ।
तातियानाले भनिन्, ‘मैले गोडाले आपतकालीन द्वार खोल्दा आगो दनदन बलेको आवाज सुनें । सबै कुरा एकदमै छिटछिटो भइरहेको थियो । कालो धूवाँ सबैतिर फैलिएको थियो । विमानको अन्तिम पंक्तिमा बसेका मानिस बाहिर निस्कनका लागि चिच्याइरहेका थिए । सबैजना आफ्नो सीटबाट कुदेर अघिल्तिर दौडिरहेका थिए अनि प्लेन चाहिँ त्यस्तो अवस्थामा पनि अघि बढिरहेको थियो ।’
विमान दुर्घटनामा बाँच्ने मानिसहरू एयर होस्टेसलाई धन्यवाद दिइरहेका छन् ।
एक यात्रीलाई धेरैजनाले दोषी मानिरहेका छन् । उनीहरूका अनुसार, एक व्यक्तिले आफ्नो सामान तेर्स्याएर लामो समयसम्म बाटो छेकेको थियो । त्यसले गर्दा पनि धेरै मानिस आगोको चपेटामा परेका थिए ।
एजेन्सी