काठमाडौँ, ३ पुस -सत्तारूढ घटक कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले संविधान संशोधन प्रस्ताव फिर्ता हुने आशंका नपाल्न मधेसी मोर्चा नेतालाई आग्रह गरेका छन् , आजको
कान्तिपुर दैनिकमा खबर छ |

प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चा नेता भेट्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा विधेयक अघि बढाउनुअघि एकपल्ट प्रमुख प्रतिपक्षी एमालेसँग कुरा गर्ने समेत बताए । एमालेसँग सहमतिका नाममा प्रस्ताव निस्क्रिय वा ढिलो गर्ने कुनै सम्भावना नरहेको दुवै नेताले स्पष्ट पारे ।
‘कतिपय हाम्रै असन्तुष्ट साथीको टिप्पणीले तपाईंहरुलाई अलमल भयो होला, तर प्रस्ताव फिर्ता लिनका लागि पेश गरिएको होइन भन्नेमा प्रष्ट हुनुस्,’ प्रधानमन्त्री दाहालले मोर्चा नेतालाई भने, ‘मधेसी, जनजातिलगायतको माग सम्बोधन गर्नकै लागि यो प्रस्ताव आएको हो । तपाईंहरुका तर्फबाट लचकता र खुला धारणा चाहिन्छ । प्रस्ताव पास गरेपछि चुनाव घोषणा गर्ने हो ।’
दाहालको भनाइमा सहमति जनाउँदै सभापति देउवाले संसदीय प्रक्रियामा गइसकेको संशोधन प्रस्ताव अब फिर्ता नलिने दोहोर्याए ।