
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका राष्ट्रसेवक कर्मचारीको वृत्ति विकासका लागि सम्पूर्ण ढोका खुला गरिने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बुधवार भएको छलफलमा उनले समायोजनमा गएका कर्मचारीको सेवा निवृत्तिपछिका सम्पूर्ण जिम्मेवारीको सुनिश्चितता संघीय सरकारले लिने स्पष्ट गरे ।
मन्त्री पण्डितले भने, 'समायोजनमा गएका कर्मचारीको खाइपाइ आएका सेवा सुविधामा घट्न दिने छैनौं । कैँची चलाएर असमान हुने गरी काम गर्दैनौं, प्रदेश र स्थानीय तहमा थप वृत्ति विकासको अवसर प्राप्त हुनेछ । समायोजनमा गएकालाई मर्का नपर्ने गरी ऐनमा व्यवस्था गरिन लागिएको छ ।'
संघीय निजामती, प्रदेश निजामती र स्थानीय सेवा सम्बन्धमा संविधानले नै फरक-फरक व्यवस्था गरेको हुँदा एउटै निजामती ऐन बनाउन मिल्दैन भन्दै उनले भने, 'फरफ-फरक सेवामा रहेकालाई फेरी एउटै सेवामा ल्याउने भन्ने हो भने संविधान विपरित हुन्छ ।'