काठमाडौं – भारतमा लोकसभा चुनावको दुई चरणको मतदान बाँकी रहेको स्थितिमा विपक्षी दलहरूले सम्भावित स्थितिका सम्बन्धमा आफ्ना रणनीतिको मन्थन गर्न थालेका छन् ।
भारतीय जनता पार्टीले बहुमत नल्याएमा गठबन्धन सरकार बनाउने सम्भावनाका विषयमा विपक्षी दलहरूले सामञ्जस्यको कसरत गरिरहेका छन् ।
विपक्षी नेताहरूको बैठकलाई सम्भावित साझा धरातल खोज्ने प्रयासका रूपमा हेरिएको छ । चुनावमा विपक्षी दलहरू अहिले एक्लाएक्लै वा फरक फरक गठबन्धनमा जोडिएर चुनावमा होमिएका छन् । केही पार्टीहरू क्षेत्रीय प्रतिस्पर्धा र फरक फरक विचारका कारण एकअर्काको सीधा सम्पर्कमै छैनन् ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री तथा टीडीपी नेता चन्द्रबाबु नायडु विपक्षी दलहरूको मध्यस्थकर्ताका रूपमा अघि बढेका छन् । उनले बुधवार कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भेटे ।
उनले मे १९ मा हुने अन्तिम चरणको मतदान र २३ मेमा सार्वजनिक हुने मतपरिणामको बीचमा पारेका मे २१ मा २२ वटा भाजपाविरोधी दलहरूको बैठक बोलाउने योजनाको चर्चा गरे । राहुलसँगको बैठकपछि नायडु कोलकाता गए अनि तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीसँग एउटा चुनावी सभालाई सम्बोधन गरे । आज उनले ममतासँग कुराकानी गरेका छन् ।
एनडीएले बहुमत नल्याएमा नयाँ सरकार गठनमा कांग्रेसको प्रमुख भूमिका रहने चन्द्रबाबु नायडुको भनाय छ । उनले प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गर्ने विषयमा केही पनि बताएनन् किनकि यसो गर्दा विषी एकतामा खलल पुग्ने उनको तर्क छ । अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्री उम्मेदवारका विषयमा टिप्पणी गरेका छैनन् ।
नायडु जस्तै तेलंगानाका मुख्यमन्त्री तथा टीआरएस प्रमुख के चन्द्रशेखर रावले सोमवार केरलका मुख्यमन्त्री तथा सीपीएम दिग्गज नेता पी विजयनसँग कुराकानी गरे । टीआरएस चाहिँ भाजपासँग पनि गठबन्धन गर्न सक्ने विपक्षी दलका रूपमा रहेको अनुमान गरिएको छ । रावले कर्नाटकका मुख्यमन्त्री तथा जेडीएस नेता एचडी कुमारस्वामीसँग पनि कुराकानी गरेका छन् ।
अचानक विपक्षी नेताहरूले सक्रियता देखाउँदा विपक्षी दलहरू परिणामपछि कुनै ढिलाइ नगरिकनै सरकार बनाउने दाबीका साथ योजना बनाइरहेको संकेत पाइएको छ । गोवा जस्ता राज्यबाट विपक्षीहरूले पाठ पढेको देखिन्छ ।
त्यहाँ भाजपा सबभन्दा ठूलो दल नभए पनि सरकार बनाउन सफल भएको थियो । बहुमत नभए पनि सरकार बनाउने काममा भाजपा सफल हुन सक्ने आँकलन गर्दै त्यसलाई रोक्न विपक्षीहरू लागिपरेका छन् ।
अनेकौं विपक्षी नेताहरूले चुनावका बेलामा पनि एकअर्कासँग सम्पर्क गरेका थिए । विद्युतीय मतदान यन्त्रमा गडबडी भएको भन्दै उनीहरूले संयुक्त पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतमा निवेदन पनि दर्ता गरिसकेका छन् ।
एजेन्सी