२९ असार २०८३, सोमबार

अमेरिका र इरानबीच युद्धको सम्भावना बढ्दो

बैशाख २६, २०७६
अमेरिका र इरानबीच युद्धको सम्भावना बढ्दो

काठमाडौं – इरान र अमेरिकाबीचको संघर्ष चरममा पुगेको देखिएको छ । इरानले आणविक कार्यक्रममा राखेको आत्मनियन्त्रणबाट आंशिक रूपमा निस्कने संकेत दिएको छ । यसको अर्थ उसले आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउने देखिन्छ । 

आइतवार ट्रम्प प्रशासनले इरान र उसका सहयोगीहरू अमेरिकाको जलसेना बेसलाई आक्रमण गर्ने योजना बनाइरहेको भनी संकेत दिएको थियो । अमेरिकाले त्यसपछि पश्चिम एसियामा विमानवाहक युद्धपोत र बम्बर टास्क फोर्स तैनाथ गरेको थियो । 

नाकाबन्दी लगाएर आर्थिक दबाब बढाएपछि अमेरिकाले अब इरानमाथि सैन्य दबाब पनि दिन थालेको छ ।

इरानले आणविक कार्यक्रमलाई निरन्तरता दिनु खतरनाक कदम हो । सन् २०१५ मा इरानले अमेरिका र युरोपेली मुलुकहरूसँग आणविक सम्झौता गरेर तेहरानको आणविक कार्यक्रमलाई नियन्त्रण गरेको थियो । यसपछि इरानलाई आर्थिक प्रतिबन्ध खुकुलो बनाइएको थियो । 

तर गत वर्ष अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आणविक सम्झौताबाट अमेरिका पछि हटेको बताए । यस सम्झौताका कारण इरानले आणविक बम बनाउन छुट पाएको तर्क उनले राखे । 

ट्रम्पको घोषणापछि पनि इरानले सम्झौता पालन गरिरह्यो तर अमेरिकाले कडा प्रतिबन्ध लगाएपछि तेहरान आणविक कार्यक्रमलाई निरन्तरता दिन उद्यत छ । 

वाशिङटनमा ब्रूकिंग्स इन्स्टिच्युटमा इरान विश्लेषक सुजेन मालोनेले ट्वीट गरिन्, ‘यस किसिमका क्षणमा संस्थाहरू महत्त्व राख्छन् अनि नीतिनिर्माता, इन्टेलिजेन्स, नैतिकता समेतका पक्षको आवश्यकता छ तर ट्रम्प प्रशासनमा सबै कुरा ध्वस्त भएको छ ।’

आइतवार राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले चाहिँ इरानी खतराको जवाफमा अमेरिकाले सैन्य कदम उठाएको बताए । 

अमेरिका र इरानबीचको सम्बन्ध ऐतिहासिक रूपमा खराबै छ तर पोहोर साल अमेरिका आणविक सम्झौताबाट हटेपछि इरानमाथि कडा प्रतिबन्ध लगाइयो र संघर्ष चर्काइयो । 

गत महिना मात्र अमेरिकाले इरानको प्रभावशाली सुरक्षा तथा सैन्य संस्था इस्लामिक रेभोल्युसन गार्ड्स कोरलाई विदेशी आतंकवादी संगठन घोषणा गरेको थियो । अमेरिकाले पहिलोपटक कुनै सरकारी अंगलाई आतंकवादी घोषणा गरेको हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्