२८ जेठ २०८३, बिहीबार

राहुल गान्धीको नागरिकता विवाद : सर्वोच्चले दियो चुनाव लड्ने अनुमति

बैशाख २६, २०७६
राहुल गान्धीको नागरिकता विवाद : सर्वोच्चले दियो चुनाव लड्ने अनुमति

काठमाडौं – राहुल गान्धीको नागरिकता विवाद नटुंगिउन्जेलसम्म उनलाई चुनाव लड्न नदिन केन्द्र सरकार र चुनाव आयोगलाई निर्देशन दिइयोस् भनी परेको निवेदनलाई भारतको सर्वोच्च अदालतले बिहीवार खारेज गरिदिएको छ । 

प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा इजलासले निवेदकहरूको निवेदनलाई खारेज गरेको हो । बेलायतमा रहेको एक कम्पनीमा वार्षिक आँकडासँगैको फारममा उनी बेलायती नागरिक रहेको जिकिर निवेदकहरूले लिएका थिए । 

‘कुनै कम्पनीको फारममा उनको बेलायती नागरिकता लेखिएको रहेछ भन्दैमा उनी बेलायती नागरिक बन्छन् र ?’ न्यायाधीश दीपक गुप्ता र सञ्जीव खन्ना समेत रहेको इजलासले निवेदकहरूलाई सोध्यो । 

दिल्लीनिवासी जय भगवान् गोयल र सीपी त्यागीले उक्त निवेदन दिएका थिए । 

निवेदनमा उनीहरूले कांग्रेस अध्यक्ष गान्धीले भारतको नागरिकता नभए पनि चुनाव लडिरहेको र उनले स्वेच्छाले बेलायती नागरिकता लिएको आरोप लगाए । 

यसअघि गृह मन्त्रालयले भाजपा सांसद सुब्रमण्यम स्वामीद्वारा राहुल गान्धीको नागरिकताका विषयमा दायर गरिएको एक उजुरीका सम्बन्धमा उनलाई नोटिस पठाएको थियो । मन्त्रालयले कांग्रेस नेतालाई यस विषयमा सत्यतथ्य जानकारी दिन भनेको थियो । 

पछि कांग्रेसले बेलायती कम्पनीमा रहेको मूल प्रमाणपत्र हेर्दा गान्धी भारतीय भएको स्पष्ट हुने देखिएको भनी वक्तव्य प्रकाशित गरेको थियो । 

यसअघि राहुल गान्धीले संसद्को एथिक्स कमिटीलाई आफूले कहिले पनि बेलायती नागरिकता लिने कोशिश नगरेको र आफ्नो पहिचान भारतीय नै भएको बताएका थिए । 

इन्डियन एक्सप्रेसबाट
 

salt training

कमेन्ट गर्नुहोस्