
लम्की – कैलालीको टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नून उपहार वितरण गर्ने गरेको छ ।
स्वास्थ्य चौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई ७ प्याकेट आयोडिनयुक्त नून उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य संस्थामा नियमित गर्भजाँचमा आकर्षित गर्न विगत १ वर्षदेखि गर्भवती महिलालाई यसरी आयोडिनयुक्त नुन वितरण गर्ने योजना बनाएको स्वास्थ्यचौकी प्रमुख हिमाल सारुमगरले बताए । ‘४ पटक नियमित गर्भजाँच गर्न आउँदा प्रत्येक पटक १ प्याकेट नून र ३ प्याकेट सुत्केरी भएपछि दिने गरेका छौं,’ स्वास्थ्यचौकी प्रमुख मगरले भने, ‘नून वितरण गर्न थालेपछि गर्भजाँच गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ ।’
गत आर्थिक वर्षमा स्वास्थ्य चौकीमा ८४ जनाले सुत्केरी सेवा लिएका थिए । यस वर्ष नियमित गर्भजाँच गराउँदै सुत्केरी सेवा लिनेको संख्या चैतको अन्त्यसम्म ९७ पुगेको छ ।
११ सय घरधुरी रहेको वडा नम्बर ६ मा ७० प्रतिशत जनजातिको बस्ती छ । स्वास्थ्य चौकीले बालबालिकाको शीघ्र कुपोषण व्यवस्थापनका लागि पौष्टिक आहारसमेत उपलब्ध गराउँदै आएको छ । ‘१७ बालबालिका शीघ्र कुपोषणको जोखिममा रहेको फेला पारेका छौं, ५ नियमित पौष्टिक आहार खाएपछि निको भएका छन् । अहिले १२ बालबालिकालाई खुवाइरहेका छौं,’ स्वास्थ्यचौकी प्रमुख मगरले भने, ‘यो विपन्न तथा जनजाति बस्ती भएका कारण बालबालिकामा कुपोषण देखिने गरेको छ ।’
बालबालिकालाई कुपोषण भए नभएको पहिचान स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले गर्ने गरेका छन् ।
टीकापुर–६ का वडाध्यक्ष बलीराम चौधरीले गर्भवतीको सेवाका लागि अन्य खर्च कटाएर भए पनि बजेट विनियोजन गरिएको बताए । ‘यो कार्यक्रमबाट विपन्न महिलाले लाभ उठाएका छन्,’ वडाध्यक्ष चौधरीले भने, ‘ग्रामीण जनताका लागि स्वास्थ्य पहिलो प्राथमिकता भएकाले नीति बनाएर स्वास्थ्यका कार्यक्रम गर्दैछौं ।’
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले वडाले बनाएको नीति सराहनीय रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा यस्ता फरक खालका कार्यक्रमले नागरिकलाई लाभ हुने बताए । ‘यो कार्यक्रम अन्य स्वास्थ्य संस्थाका लागि पनि सिकाइ हुन्छ,’ रावलले भने ।