
काठमाडौं – भारतको अयोध्या भूमि विवादमा शुक्रवार सर्वोच्च अदालतमा मध्यस्थता प्यानलले प्रस्तुत गरेको प्रतिवेदनमा सुनुवाइ हुनेछ ।
मध्यस्थताबाट यो समस्या समाधान हुने देखिएमा यसलाई जारी राख्ने निष्कर्षमा अदालत पुग्न सक्ने भएकाले आजको सुनुवाइ एकदमै महत्त्वपूर्ण छ । तर मध्यस्थताबाट समस्या समाधान नहुने संकेत पाएमा सर्वोच्चले आफैं सुनुवाइकै क्रममा फैसला पनि गर्न सक्नेछ ।
सर्वोच्चले यस विवादमा पारस्परिक समाधानका लागि मार्च ८ मा तीन सदस्यीय प्यानल गठन गरेको थियो । सर्वोच्चका पूर्व न्यायाधीश कलीफुल्लाहलाई यस प्यानलको अध्यक्ष नियुक्त गरिएको थियो । प्यानलले अयोध्या विवादमा समाधानको आशा राखेको छ । तर सम्पूर्ण प्रक्रियामा लामो समय लाग्न सक्ने पनि भनेको छ ।
प्यानलमा वरिष्ठ अधिवक्ता श्रीराम पञ्चू र धर्मगुरु श्री श्री रविशंकर पनि छन् । अदालतले प्यानललाई अयोध्या विवादमा जोडिएका दुवै पक्षलाई वार्ताको टेबलमा ल्याएको छ ।
अयोध्यामा भगवान् रामको जन्मस्थान मानिने २.७७ एकड भूमिका सम्बन्धमा विगत ७० वर्षदेखि विवाद चलिरहेको छ ।
प्यानलले अहिलेसम्म दुईवटा संक्षिप्त प्रतिवेदन पेश गरेको छ । पहिलो रिपोर्ट अप्रिल महिनामा पेश गरिएको थियो जसमा प्यानलले कुन कुन पक्षसँग बैठक गरेको हो भनी उल्लेख गरेको छ । अर्को रिपोर्ट यसै हप्ता पेश गरिएको थियो र त्यसमा थप चरणमा वार्ता गर्ने कुरा छ ।
एजेन्सी