
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याई छाड्ने बताएका हुन् । उनले केही व्यक्ति मेलम्ची आउन नदिन लागिपरेको बताउँदै नेकपा नेतृत्वकै सरकारको पालामा मेलम्चीको पानी काठमाडौं आउने स्पष्ट पारे ।
प्रचण्डले अब कसैले चाहेर पनि मेलम्ची आयोजनाको काम नरोकिने बताए । ‘म र प्रधानमन्त्री हामी दुवै हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउन दृढ छौं,' उनले भने, 'म आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनमा जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेका थिए, विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको मैले सुनेको छु ।'
‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन्, प्रचण्डले भने, ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, कठोर कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’
मेलम्ची आफ्नै मान्छेहरूले रोकेको आफूले शंका गरेको प्रचण्डले बताए । ‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङको काम पनि करिब सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ प्रचण्डले भने, ‘तर अझै एक दुई वर्ष लाग्छ भनिएको छ । मलाई लाग्छ मेलम्ची हाम्रै मान्छेहरुले रोकेका हुन् ।’
अध्यक्ष प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लाग्ने गरेको रोग जस्तै भएको टिप्पणी गरे । उनले अगाडि भने, 'यो एक किसिमको रोग जस्तै भएपनि हामी यसलाई दृढतापूर्वक सम्पन्न गर्ने अवस्थामा छौँ । जरुरी पर्ने हो भने, यसलाई अप्रेशन नै गर्ने, अप्रेशन गर्न ढिलाई नगरी मेलम्ची ल्याउने भन्नेमा हामी दृढ नै छौँ ।’