.jpg)
काठमाडौं, ७ चैत – सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिँदै गरेकी ७३ वर्षीया केदारकुमारी याक्खालाई आइतवार पेप्सीकोलास्थित घरमा भेट्न जाँदा उनी सोमवारको विज्ञान विषयको जाँचको लागि पढ्दै गरेकी थिइन् । उनको सुत्नेकोठाको छेउमा टेबुल राखिएको छ र टेबुलमाथि किताबकोे चाङ छ ।

वृद्ध उमेरमा पनि एसईई दिएर उनले सबैलाई आश्चर्य पारेकी छन् । पढ्न उमेरले छेक्दैन भन्ने उदाहरण हुन् उनी । इलामको फिक्कलस्थित तीनघरेमा जन्मेकी याक्खालाई सानोमा पढ्न नपाएको अहिले खुब पढ्ने रहर छ ।
अझ उनलाई एसईई पास गरेर कलेजमा एकचोटि भएपनि नाम लेखाउने धोको छ । उमेरले ७३ काटेर आउने वैशाखमा ७४ लाग्दैछिन् तर उनको पढ्ने मेख मरेको छैन ।
दश नातिनातिनीको हजुरआमा याक्खाले तीन वर्षअघि नाति आमोद र एन्जिलासँग एसएलसी दिएकी थिइन् तर सफल हुन सकिनन् । अघिल्लो वर्ष चाहिँ फारम भर्न ढिला भएको कारण उनी परीक्षामा सामेल हुन सकिनन् । यसपाली जसरी पनि एसईई पास गर्ने अठोटका साथ उनी कम्मर कसेर लागिरहेकी छन् ।
उनी भक्तपुरको बोडे माविबाट एसईईमा परीक्षा दिइरहेकी छन् । यसपाली उनको परीक्षा सेन्टर थिमीको आदर्श उच्च माविमा परेको छ । बिहीवारबाट शुरु भएको परीक्षामा भाग लिने उनी सबैभन्दा वृद्ध विद्यार्थी हुन् । सोमवार गणित विषयको जाँच दिएर आएकी याक्खा जाँच हल्का बिग्रेकाले केही निराश थिइन् ।
‘प्रश्न निकै गाह्रो आएको थियो । वरिपरिका भाइबहिनीसँग एकछिन सोध्न पनि नपाइने,’ उनले भनिन्, ‘मिस निकै कडा ।’

उनलाई गणित, विज्ञान र अंग्रेजी गाह्रो लाग्ने विषय हो । सामाजिक भने उनलाई निक्कै सजिलो लाग्छ । नेपालीमा जति राम्रो लेखेपनि नम्बर नआउने उनको गुनासो छ । ‘जति राम्रो लेखे पनि नम्बर थोरै आउँछ,’ उनले भनिन् ।
दश वर्षअघि कोटेश्वरमा सञ्चालित अनौपचारिक महिला शिक्षा पढ्न होइन हेर्न मात्रै गएकी थिइन् याक्खा । कक्षामा जाँदा मिसहरूले किताब र कापी थमाइदिए । त्यसपछि उनको पढ्ने मूड बनेको हो । नभन्दै त्यहीँबाट उनले तीन कक्षासम्मको अध्ययन पूरा गरिन् ।
पेप्सीकोलास्थित महिला चेतनशीलबाट उनले कक्षा पाँचसम्मको औपचारिक शिक्षा पूरा गरिन् । लगत्तै उनले सानोठिमीबाट आठ कक्षा पास गरिन् । त्यो पनि सोचेभन्दा बढी नम्बर ल्याएर । सफलता मिल्दै गएपछि उनमा पढ्ने हौसला थप बढ्दै गएको हो ।
अब उनको धोको फलामे ढोका मानिने एसईई परीक्षा पास गर्ने छ । बुढ्यौलीले गर्दा उनलाई पढेको कुरा छिट्टै बिर्सिने समस्या छ । तैपनि किताबमा मन लगाएर घोत्लिने बानी हटेको छैन । अनुहार चाउरी परिसकेको भएपनि एसईई पास गरेर क्याम्पस जाने रहर उनको छ ।
‘नाति आमोद एसएलसी पास गरेर इन्जिनियर पढ्न कलेज गएको छ, नातिनी नर्सिङ पढ्न कलेज गइरहेकी छन्,’ उनले हाँस्दै भनिन्, ‘मेरो यसपाली एसईई पास गरेर कलेज छिर्ने सोच छ ।’
कलेज गएर एकपटक नामसम्म लेखाउने धोको उनको छ ।
यो उमेरमा पनि निकै फुर्तिलो देखिन्छिन् उनी । अलिअलि प्रेसरको समस्या छ उनलाई । बिहान ४ बजे उठेर घरनजिकैको फूटबल मैदानमा दिनको १४ चक्कर लगाउन भ्याउँछिन् ।
उनका नातिनातिनाले वृद्ध उमेरमा पनि पढ्नको लागि हौसला दिएका छन् । ‘हामीसँगै पढेका नियमित स्कूल आउने विद्यार्थीहरू त परीक्षामा फेल भइरहेका हुन्छन्,’ नातिनातिनाहरू सुनाउँछन्, ‘परीक्षा दिनुहोस्, हामी तपाईंलाई सहयोग गर्छौं ।’
उनलाई नातिनातिनाले गणित र अंग्रेजी सिकाउँछन् ।
उनी बोडे माविका शिक्षक रुद्रकुमार धमलाको प्रेरणाले एसईई परीक्षामा सामेल भइरहेकी छन् । धमलाले निष्फिक्री भएर परीक्षामा लेख्न हौसला दिइरहन्छन् उनलाई । ‘छिटो लेख्न त मलाई पनि खुब रहर छ,’ उनी भन्छिन्, ‘तर हातै चल्दैन ।’
आठ वर्षअघि उनका श्रीमान् बितेका थिए । अस्पतालको शैय्यामा मृत्युसँग संघर्ष गरिरहेका उनका पतिले निको भएपनि तिमीलाई पढाउँछु भनेर आश्वासन दिएका थिए ।
उनका तीन छोरा छन् । तीनवटै विदेश । अहिले जेठी बुहारी विमकुमारीसँगै घरमा बस्दै आएकी छिन् । जेठी बुहारीले परीक्षाको बेला सासूलाई कहिल्यै काम गर्न दिँदैनिन् ।
‘उहाँ पढ्न बस्नुभयो भने कोठाबाट बाहिर निस्कनुहुँदैन,’ उनले भनिन्, ‘ खाना खान समेत बिर्सनुहुन्छ । गएर बोलाइरहनुपर्छ ।’
एकपटक अनुत्तीर्ण भएपछि यसपाली परीक्षामा सामेल हुने सोच बनाएको कुरा कसैलाई बाएकी थिइनन् । छरछिमेक तथा आफन्तहरूले खिसी गर्ने डरले उनले कसैलाई नभनेको बताइन् ।

पढाइका कारण घरबाट बाहिर ननिस्केको देखेर छिमेकीले यसपाली एसईई दिन लागेको मेसो पाए । घरमा एक्लै के गरेर बसिरहेको भनी सोध्ने गरेको र जाँचको तयारीको लागि पढ्न जाँदा छिमेकीले मेसो पाएको उनी बताउँछिन् । कतिपयले स्कूल जाँदा जिस्काउँछन् तर उनलाई स्कूल पुगेर साथीसँगी नभेटेसम्म नियास्रो लागिरन्छ । सँगै पढ्नेहरू आमा भनेर सम्बोधन गर्छन् । उनको इच्छाशक्तिको पनि सबैले तारिफ गर्छन् ।
कमजोर आँखालाई सहज पार्न २२ वर्षअघि चश्मा लगाउन शुरु गरेकी उनको घोरिएर किताबमा घोत्लिने बानी चाहिँ हटेको छैन । इलामको सामान्य परिवारमा जन्मेकी उनको परिवार ठूलो थियो । तीन दाजुभाइ र पाँच दिदीबहिनीमा उनी काइँली हुन् ।

त्यसबेला छोरी मान्छेलाई पढाउने चलन थिएन । परिवारबाट सबैभन्दा जेठो दाइले मात्रै स्कूल गएको उनी सम्झिन्छिन् । पढ्ने उमेरमा घरको काम र खेतबारीको काम गर्नुपर्थ्यो ।
अहिले उनको पढ्ने रहरलाई तारिफ गर्दै दाइले उसबेलानै पढाउनुपर्दो रहेछ भन्छन् । आमाको पढ्ने रहर देखेर उनका माइला छोराले वर्णमाला किनेर दिएको उनी सम्झिन्छिन् ।

छोराहरूले किनेर ल्याइदिएको कापीमा लेख्न नपुगेर वार्षिक क्यालेन्डरको खाली ठाउँमा समेत लेखेर पात्रो भर्ने गरेको उनले रमाइलो किस्सा सुनाइन् ।
कोहीले बुढ्यौली उमेरमा दानधर्म तीर्थ जाने बेलामा किन बेकारको दुःख गरेर पढाइ गरेको भनेर पनि सोध्छन् । तर उनले कसैको कुरा नसुन्ने गरेको सुनाइन् । आफूले पढ्न नपाएकोले होला छोरीलाई पनि छोरासरह पढ्न लेख्न दिनुपर्ने उनले बताइन् ।