
बुटवल- रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आइतवारदेखि रोकिएको छ । सरकारले ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम पठाउन ढिलाइ भएपछि मुख्य काम नै ठप्प भएको हो । अहिले विमानस्थलको मुख्य काम धावनमार्गको पिचको काम चलिरहेको थियो ।
‘नेपाल नागरिक उड्ययन प्राधिकरणबाट भुक्तानी हुनुपर्ने रकम नआएपछि ठेकेदार कम्पनी चिनियाँ नर्थवेष्ट युनाइटेडले काम पठाएको छैन,’ आयोजना प्रमुख प्रवेश अधिकारीले लोकान्तरसँग भने ।
उनले थपे, ‘प्राधिकरणले एसियाली विकास बैंक मार्फत रकम समयमा नपठाउँदा काम रोकिन पुग्यो । जसले गर्दा तीव्र गतिमा निर्माणको काम भइरहेको समयमा यस्ता अवरोध आउँदा समयमा सम्पन्न गराउन बाधा पुग्छ ।’ आयोजनले एडीबीमार्फत पाउनुपर्ने १० करोड रूपैयाँ पाएको छैन । रकम भुक्तानी नपाउँदा नर्थवेष्ट युनाइटेडले सहायक ठेकेदारहरू भुक्तानी दिन नसक्दा काम ठप्प हुन पुगेको हो । काम रोकिएपछि दैनिक २ सय ५० जना कामदार कामविहीन भएका हुन् । हालसम्म ७० प्रतिशतभन्दा बढी विमानस्थल निर्माणको काम भइसकेको छ ।
त्यस्तै निर्माणको काममा नदीजन्य पदार्थको पनि अभाव खड्किएको छ बुटवल उपमहानगरपालिकाले सम्झौता गरेपछि पनि बजारको रेटको आधारमा मूल्य तयार गरेपछि नदीजन्य पदार्थ ठेकेदारले लैजान सकेको छैन । ‘जेठभित्र सबै नदीजन्य पदार्थ लैजानुपर्छ तर सम्झौतापछि बुटवल उपमहानगरपालिकाले मूल्य बढाएपछि ठेकेदारले नदीजन्य पदार्थ लैजान सकेका छैन । यसले ६ महिना कामपछि धकेलिने देखिन्छ,’ अधिकारीले भने ।
निर्माण सम्पन्न गर्ने अन्तिम मिति २८ जुन २०१९ सम्म रहेको छ । हाल विमानस्थलको धावन मार्गमा अन्तिम तहको कालोपत्रे, टर्मिनल भवन, पानी ट्यांकी, कन्ट्रोल टावर लगायतको काम धमाधम भइरहेको छ ।
कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ लगानीमा निर्माणाधीन विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । लुम्बिनीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारका दरले वार्षिक करीब ६० लाख यात्रु विमानस्थल भएर यात्रा गर्ने सरकारी आकंलन छ ।