२४ जेठ २०८३, आइतबार
मुख्य समाचार

त्रिवि बन्यो एशियाको अब्बल, दुई महिनाभित्र ‘मास प्रिन्टर’ खरीद गरिने

बैशाख ३०, २०७६
त्रिवि बन्यो एशियाको अब्बल, दुई महिनाभित्र ‘मास प्रिन्टर’ खरीद गरिने

काठमाडौँ–नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विरोधीसम्बन्धी कुनै कानून आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् । आइतबार  आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मनसायले विधेयक अघि बढाएको आरोप लगाउँदै त्यस्ता कदमको सदन र सदन बाहिर देशैभरि विरोध गर्ने उल्लेख गरे । 

स्वतन्त्रता, न्याय, समानता, बन्धुत्व काङ्ग्रेसका महत्वपूर्ण आधारभूत सिद्धान्त भएको जानकारी गराउँदै सभापति देउवाले भने, “स्वतन्त्रता पहिलो आधारभूत अधिकार हो, यही स्वतन्त्रताभित्र नै बोल्न, लेख्न, बाच्न पाउनेलगायतका स्वतन्त्रता पर्छन् । स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कदम सह्य हँुदैन ।” 

प्रेस स्वतन्त्रता आफ्नो पार्टीको आर्दश भएको र त्यसमा कुनै सम्झौता हुन नदिने स्पष्ट पार्दै उनले प्रेस कमजोर भयो वा प्रेसले अधिकार पाएन भने जनताको अवस्थाका बारेमा केही थाहा नहुने धारणा व्यक्त गरे । 

सञ्चारकर्मीको जिज्ञासामा उनले प्रजातन्त्रका लागि मानवाधिकार पनि नभई हुने विषय भएको उल्लेख गर्दै भने, “कम्युनिष्ट सत्तामा आए पछि के हुन्छ, मैले त पहिल्यै भनेको थिए, तपाईहरुले अहिले थाहा पाउनुभयो ।” मानवाधिकार र प्रेससम्बन्धी विधेयक उक्त निकायका अधिकार खोस्नका लागि ल्याएको उनको आरोप थियो । 

सरकारले अगाडि बढाएको भनिएको मिडिया काउन्सिलसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकूल रहेको काङ्ग्रेसले गरेको छ ।

काङ्ग्रेसले आफ्नो नेतृत्वको सरकारका पालामा प्रेस काउन्सिल ऐन ०४८ निर्माण भएको र सो ऐनको प्रस्तावनामै काउन्सिललाई स्वायत्त र अर्धन्यायीक संस्थाका रुपमा उल्लेख गरिएको जनाउँदै संसद्मा प्रस्तुत पछिल्लो विधेयकले प्रस्तावनाको त्यो परिच्छेद हटाएर स्वायत्तता र अर्धन्यायिकस्वरुपको सोझो समाप्ति सुनिश्चित गरेको उल्लेख गरेको छ ।

कार्यसम्पादन क्रममा निश्चित आचारसंहिताको जगमा अर्धन्यायिक ढङ्गले कार्य गर्ने स्वविवेकीय स्वायत्तता समाप्त हुने विधेयक पारित भए काउन्सिल सरकारी नियतको बन्धक बन्ने निश्चित भएको सो पार्टीले जनाएको छ । पत्रकार सम्मेलनमा काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सञ्चार क्षेत्रमाथि विभिन्न बहानामा अनावश्यक दुःख दिने तथा सजायको कुरा गर्ने कुनै पनि प्रस्ताव आफ्नो पार्टीलाई मान्य नभएको उल्लेख गर्दै प्रस्तावको खिलापमा रहेको बताए । 

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले मानवाधिकार, सूचना प्रविधि र मिडिया काउन्सिलसम्बन्धी विधेयक कतिपय सन्दर्भमा संविधान प्रतिकूल भएको आरोप लगाउँदै त्यस्ता विधेयकको ठोसरुपमा विरोध गर्ने र विधेयक फिर्ता गरेर संविधानअनुसार हुने गरी ल्याउन माग गर्ने बताए । 

   पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रता मात्रै नलेखिएर ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेखिएको उल्लेख गर्दै प्रेस जगत्लाई नियमन गर्ने नाममा प्रेस स्वतन्त्रतालाई कुनै पनि ढङ्गले असर पु¥याउन नपाइने बताए । 

सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक 

काठमाडौँको ठूला ११ सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा रोक लगाइएको छ । 

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरे पनि व्यावहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला ११ अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गरिएको हो । 

नेप्सेमा सामान्य सुधार 

नेप्सेमा आइतबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.०७ बिन्दुले बढेर एक हजार २९५.०३ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले बढेर २७७.०३ बिन्दुमा पुगेको छ । स्टकका अनुसारका कूल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ कित्ता शेयर रु ८४ करोड ७६ लाख ९९ हजार ६६१ मूल्यमा खरीद बिक्री भए । स्टककाअनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल १००.२४, वित्त ०.४१, निर्जीवन बीमा ७६.०४ र उत्पादन ९८.७९ बिन्दुले बढेको छ । 

यस्तै बैंकिङ ०.५६, विकास बैंक ७.८५, जलविद्युत् १.२१, अन्य ०.३१, लघुवित्त १.६०, जीवन बीमा १०.०३ र म्यूचअल फण्ड ०.०८ बिन्दुले घटेका छन् । शिवम् सिमेन्टका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए । 

यस्तै प्रिमियर इन्स्योरेन्स ९.८७, ओरियन्टल होटल ८.७९, नेपाल हाइड्रो डेभलपर ८.१५, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका शेयधनीले ५.५७ प्रतिशतले कमाएका छन् । त्यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्था ७.२६, नवील इक्विटी फण्ड ५.७८, सिनर्जी पावर डेभलपमेन्ट ४.९०, माउन्टेन हाइड्रो ४.३४ गण्डकी विकास बैंकका शेयरधनीले ३.७५ प्रतिशतले गुमाए । 

घुस लिएको अभियोगमा पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामीडाँडा सामुदायिक वन उपभोक्ता समिति बाँकेका वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालाई रु पाँच लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

सामुदायिक पनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई राप्तीसोनारी गाउँपालिका–१ बैरियाबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

यस्तै आयोगले रु २० हजार घुस लिएको अभियोगमा नवलपरासीमा कार्यरत नापी सर्वेक्षण छत्रबहादुर ठकुल्लालाई पक्राउ गरेको हो । जग्गाको क्षेत्रफल मिलाइदिने भनी ठकुल्लाले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ । 

नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा

नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवनमा भेला भएका साहित्यकारले कविता वाचनमार्फत दुई देश बीचको सम्बन्धका बारेमा चर्चा गरे । नेपाली र हिन्दी मात्र नभई नेपालमा बोलिने विभिन्न भाषामा कविता वाचन गर्दा प्रज्ञा भवनको देवकोटा कक्ष साहित्यमय बनेको थियो । 

साहित्यकार रमेश शुभेच्छुले नेपालीमा, हंशावर्ती कुर्मीले अवधिमा, विजेता चौधरीले मैथिलीमा, गोपाल अश्कले हिन्दीमा र लक्की चौधरीले थारु भाषामा कविता वाचन गर्नुभयो । यस्तै भारतका साहित्यकार अमिता दुवे, कुशुम बर्मा, शिव पुजन शुक्ल र कसेन्द्रकुमार पुष्पले पनि कविता वाचन गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार वैरागी काइँलाले दुवै देशका साहित्यकारको भेटघाटले एकअर्काको साहित्य र भाषाका बारेमा जानकारी लिन पाइएको बताए । 

श्रमअनुसारको पारिश्रमिक पाउँदैनन् नर्स 

ठूलो लगानी गरेर पढेका नर्सिङका विद्यार्थीले पढाइ सकेपछि कडा मिहिनेत, जोखिम र सम्वेदनशील काम गर्नुपर्ने भए पनि श्रमको मूल्य भने पाउन सकेका छैनन् । 

विदेशमा रोजगारीको राम्रो अवसर भए पनि नेपालमा बस्छु भन्नेका लागि यो पेशा निकै चुनौतीपूर्ण बन्दै गएको छ । प्रमाणपत्र तह नर्सिङ अध्ययनका लागि तीन वर्षको रु चार लाख ७५ हजार क्याम्पसमा बुझाउनुपर्ने हुन्छ । यसका अतिरिक्त किताब, कापी, परीक्षा, होस्टल, प्रयोगात्मक कक्षा लगायतको खर्च हेर्दा रु सात लाख बढी खर्च हुने गर्दछ । यस्तै नर्सिङ स्नातक (बिएन)को क्याम्पस शुल्क रु छ लाख ५० हजार हाराहारी रहेको छ भने बिएससि नर्सिङको रु ११ लाख ९० हजार पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन पाएका क्याम्पसले लिँदै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयसँगै अन्य विश्वविद्यालयसँग सम्बन्धन लिएर पढाउने क्याम्पसले त्यो भन्दा बढी फरक फरक शुल्क लिने गरेका छन् । तर तिनै क्याम्पसबाट अध्ययन गरेका विद्यार्थीले नेपालमा पाउने जागिरको अवस्था भने दयानीय रहेको छ । नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष माया पाण्डेले नर्सको कामको चुनौती बढी भए पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको बताइन् । 

पोखरादेखि देहरादुन सिधा बस सेवा सञ्चालन हुने

पोखरादेखि भारतको देहरादुनसम्म सिधा यात्रुवाहक बस सेवा सञ्चालन हुने भएको छ । पृथ्वी राजमार्ग बस सेवा समितिद्वारा आगामी जेठ ८ गतेदेखि बस सेवा सञ्चालन गरिने जानकारी गराएको छ ।

सो अवसरमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले सातामा एक दिन बुधबार बस सञ्चालन गर्ने बताए । उनले पोखरादेखि खुलेको बस नारायणगढ, बुटवल, महेन्द्रनगरबाट बनवास, रुद्रपुर, ऋषिकेश, हरिद्वार हुँदै देहरादुन पुग्ने जानकारी गराए । 

ज्ञवाली जेनेभा प्रस्थान

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । 

भूकम्पपछि नेपालको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराई थप सहयोग जुटाउने क्रममा उनी जेनेभा गएका हुन् । 

यही वैशाख ३० (मे १३ देखि १७) देखि आगामी जेठ ३ गतेसम्म जेनेभामा हुने पुनःनिर्माणसम्बन्धी चौथो विश्व सम्मेलन र विपद् जोखिम व्यवस्थापनसम्बन्धी विश्वव्यापी मञ्च (ग्लोबल प्लेटफर्म) मा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनःनिर्माण र पुनःस्थापना सम्बन्धमा कार्यपत्र पेश गर्ने कार्यक्रम छ ।

दुई महीनाभित्र ‘मास प्रिन्टर’ खरीद गरिने

स्मार्ट चालक अनुमतिपत्रका लागि फारम भरेर पनि नपाउनेको सङ्ख्या दिनदिनै बढिरहदा सरकारले दुई महीनाभित्रमा ‘मास प्रिन्टर’ खरीद गरिसक्ने भएको छ । 

‘मास पिन्टर’ खरीदका लागि ठेक्का आह्वान भइसकेकाले दुई महीनाभित्रमा आइसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले खरीद प्रक्रियामा गइसकेकाले अब सेवाग्राहीले चालक अनुमतिपत्रका लागि लामो समय कुर्न नपर्ने बताए । उनले भने, “अबको केही महीनापछि नै सेवाग्राहीले फारम भरेको एकदुई हप्तामा नै चालक अनुमतिपत्र पाउनेछन् ।”

कार्यालयमा अहिले झण्डै छ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका क्रममा रहेका महानिर्देशक दाहालले बताए । उनका अनुसार छ महीना पहिले फारम भरेका सेवाग्राहीले अहिले चालक अनुमतिपत्र पाउन बाँकी रहेको छ । 

देशभर रहेका यातायात व्यवस्था कार्यालय प्रदेशमा हस्तान्तरण भइरहेपनि विभागले नै ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गर्दै आएको छ । 

जोशीको जन्मदिनमा सार्वजनिक बिदा

वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्र्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।  महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य सङ्घसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ । 

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा भएको तथा उनको नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए ।   पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सगका उपलक्ष्यमा महानगरले यस वर्षभरि  नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ 

दज्र्यानी चिह्न प्रदान

उपरथीमा पदोन्नति भएका नेपाली सेनाको निरीक्षण निर्देशनालयका निर्देशक निरञ्जनकुमार श्रेष्ठलाई दज्र्यानी चिह्न  प्रदान गरिएको छ । 

नेपाल सरकार, मन्त्रिपरिषद्को वैैशाख २३ गतेको निर्णयानुसार जङ्गी अड्डामा आयोजित एक समारोहबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले श्रेष्ठलाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरे । यसैबीच नेपाल प्रहरीका डीआईपीमा बढुवा भएका विश्वराज पोखरेलले पनि बढुवाको फुली लगाएका छन् । 

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत 

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । 

सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेखमा गरिएका उद्धरणलगायत मुख्य सूचकलाई आधार मानी सो निर्धारण गरेको हो ।

सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्याङ्कका आधारमा विश्वविद्यालयको मूल्याङ्कन गरिएको र त्रिभुवन विश्वविद्यालय पहिलो पटक एशियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि सूचीकरण प्रक्रियामा भाग लिएको विश्वविद्यालयले जनाएको छ ।

संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयको स्तर निर्धारण मूल्याङ्कनमा विश्वका उत्कृष्ट ८०१–१००० औंँ विश्वविद्यालयको सूचीभित्र त्रिभुवन विश्वविद्यालय पर्न सफल भएको थियो । विश्वमा करीब ३० हजार विश्वविद्यालय छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्