१३ असार २०८३, शनिबार

खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि, सेवाग्राही खुशी

बैशाख ३०, २०७६
खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि, सेवाग्राही खुशी
प्रतिकात्मक तस्वीर

रुकुमपूर्व – जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–८ मा अहिलेसम्म सडक सुुविधा पुगेको छैन । स्थानीय सडक सञ्जालमा जोडिएको क्षेत्र पुग्न १ दिनको पैदलयात्रा गर्न बाध्य छन् ।

भौगोलिक विकटताका कारण यस क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट समेत वञ्जित भएका छन् तर आइतवार उक्त क्षेत्रमा खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली पुग्यो । 

पुथा उत्तरगंगा गाउँपालिका–८ चारगाउँको रिवाङचौर स्वास्थ्यचौकीमा डाक्टर सहितको टोली पुग्दा स्थानीय दङ्गै परे । राम्रो स्वास्थ्य सेवाको लागि गाउँमा सुविधासम्पन्न अस्पताल नभएको र टाढाको अस्पतालसम्म पुग्न नसकेको बेलामा घोडामा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली गाउँमा पुग्दा राम्रो स्वास्थ्य सेवा पाउने भयौं भन्दै स्थानीय खुशी भए ।

भौगोलिक विकटताका कारणपछि परेको यस क्षेत्रमा सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै स्थानीय रमा झाँक्रीले खुशी व्यक्त गरिन् ।

शिविरमा विशेषज्ञ डाक्टर नवीन बुढाथोकी र सुनिल पुनलगायतको टोलीले सेवा दिने बताइएको छ । शिविरमा भिडियो एक्सरे, ल्याब परीक्षण, इसिजी सेवा तथा निःशुल्क औषधि वितरण गरिने अस्पतालका प्रबन्धक हरिबोल भारतीले बताए । साथै शिविरमा ज्वरो, आउने, टाउको दुख्नेलगायत अन्य रोगको पनि जाँच गर्ने र जटिल प्रकृतिका रोगका बिरामीलाई जिल्ला बाहिर पठाइने उनले बताए । शिविरमा आउने प्रायः महिला, वृद्धवृद्धा रहेका छन् । 

लाजका कारण ग्रामीण भेगका कतिपय नागरिक रोग लुकाएर बस्ने गरेको र तीनै समस्यालाई निर्मूल पार्न स्वास्थ्य शिविरको आयोजना गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता लीलामणि गौतमले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर ५ को कार्यालय बुटवल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक सहयोग, रुक्मेली सामुदायिक अस्पताल प्रालि रुकुम (पश्चिम) को आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरको टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालिएको हो । शिविरको उद्घाटन गर्दै गर्दासम्म २१२ ले नाम दर्ता गरिसकेको अस्पतालका प्रबन्धक भारतीले बताए ।

जिल्लाका विकट गाउँमा अहिले पनि यातायातको साधनको रुपमा खच्चडलाई नै प्रयोग गर्ने गरिएको छ तर, दुर्गम क्षेत्रमा खच्चडमार्फत औषधि ढुवानी गरी नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिएको जिल्लामै यो पहिलोपटक भएको कार्यक्रम सहजकर्ता गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्