काठमाडौं – भारतको बहुजन समाज पार्टी (बीएसपी) प्रमुख मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गर्दै अलवर ग्यांगरेप काण्डमा राजनीति गरेको आरोप लगाएकी छन् ।
यसका साथै मायावतीले मोदीलाई व्यक्तिगत आक्रमण पनि गरेकी छन् ।
मायावतीले भनिन्, ‘मोदीले बहिनी र पत्नीहरूको इज्जत गर्न के जान्दथे र ? उनले राजनीतिक लाभका लागि आफ्नै पत्नीलाई छोडिसकेका छन् । भाजपा नेताका पत्नीहरू आफ्ना पति मोदीनजिक जाँदा पनि डराउँछन् ।’
सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘नरेन्द्र मोदी पहिला अलवरकी दलित महिलाको उत्पीडन घटनाका विषयमा चुप थिए । तर मैले बोल्नेबित्तिकै यस विषयमा उनले घिनलाग्दो राजनीति गरिरहेका छन् । चुनावमा पार्टीलाई फाइदा होस् भनी उनले राजनीति गरे । यो लज्जास्पद घटना हो । आफ्नी पत्नीलाई छोड्न सक्ने मानिसले अर्काकी दिदीबहिनी, छोरी र पत्नीलाई इज्जत दिन के सक्थे र ?’
उनले थपिन्, ‘मैले त के पनि थाहा पाएँ भने भाजपामा विवाहित महिलाहरू आफ्ना पति मोदीनजिक जाँदा तर्सिन्छन् । कतै मोदीले पतिहरूलाई आफूसँग वियोग त गराइदिँदैनन् भनी उनीहरू आत्तिने गरेको मैले थाहा पाएकी छु ।’
मायावतीले भनिन्, ‘मोदीले अति पिछडिएको वर्गलाई लोभ्याउनका लागि आफू अति पिछडिएको जातिबाट आएको भन्ने गरेका छन् । यी जन्मजात पिछडिएको वर्गका मानिस हैनन् । गुजरातको मुख्यमन्त्री हुँदा उनले जोडजाड गरेर आफ्नो जातिलाई पिछडिएको जातिमा सूचीकृत गराएका हुन् । यी वास्तविक पिछडिएको जातिका मानिस हुन्थे भने यिनले दलित र पिछडिएको वर्गका लागि बनेको घरको डाढ गर्दैनथिए । यी कागजी रूपमा मात्र अतिपिछडिएका वर्गका मानिस हुन् ।’
एजेन्सी