
एजेन्सी- पूर्वभारतीय क्रिकेटर सचिन तेन्दुलकरले १२ औं संस्करणको आईपीएलको फाइनलमा शानदार बलिङ गरेका जसप्रित बुमराहलाई संसारकै उत्कृष्ट बलरको रूपमा टिप्पणी गरेका छन् ।
बुमराहले चेन्नई सुपर किंग्सविरुद्ध आइतवार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा ४ ओभरमा १४ रन दिँदै २ विकेट हात पारेका थिए ।
मुम्बई इन्डियन्सले दिएको १५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा १४८ रन मात्र बनाउन सक्यो । चेन्नईले फाइनल मात्र एक रनले गुमाएको हो ।
म्याचपछि मुम्बई इन्डियन्सका युवराज सिंहले सचिन तेन्दुलकरको अन्तर्वार्ता लिए । जसमा सचिनले तारिफ गर्दै बुमराहलाई अहिलेको समयमा संसारकै उत्कृष्ट बलर भएको बताए ।
सचिनले भने, 'बुमराह आजको दिनमा संसारकै उत्कृष्ट बलर हुन् । अझै उनको खेल हेर्न बाँकी छ ।'
२५ वर्षीय बुमराहले म्याचपछि भने, 'यो फाइनल थियो । मुम्बईले उपाधि जित्नु थियो । त्यसैले हामीले म्याचलाई संयम बनाइराख्यौं । म पनि निकै संयमित थिएँ ।'