काठमाडौं – संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको शिखरमा पुग्ने पर्वतारोहीहरूको संख्या यसपालि अत्यधिक हुन सक्ने देखिएको छ ।
हिमालय डेटाबेसका अनुसार, अहिलेसम्म चार हजार पर्वतारोहीहरू सगरमाथा शिखरमा पुगिसकेका छन् । विगत केही वर्षयता पर्वतारोहीको संख्या निकै बढेको छ । धेर भीडका कारण सगरमाथामा ट्राफिक जामको जस्तो स्थिति आएको छ ।
सगरमाथा चढ्न निवेदन दिने अनि निश्चित रकम चुकाउने सबैलाई नेपाल सरकारले अनुमति दिने गरेको छ । ११ हजार अमेरिकी डलर तिरेपछि जसले पनि सगरमाथा चढ्न पाउँछ ।
पर्यटन विभागका अनुसार, यस वर्ष ३७८ जनालाई पर्वतारोहणको अनुमति दिइएको छ । यो अहिलेसम्मकै सबभन्दा धेरै संख्या हो । यसअघि सन् २०१७ मा ३७३ जनालाई अनुमति दिइएको थियो ।
धेरैजसो पर्वतारोहीलाई शिखरसम्म पुग्नका लागि स्थानीय नेपाली गाइड आवश्यक हुन्छ । अर्को हप्तादेखि सगरमाथाको शिखर ताकेर ७५० मानिस त्यहाँ पुग्दैछन् । यसपालि महिला पर्वतारोहीका संख्या पनि अत्यधिक छ ।
नेपालतर्फबाट सगरमाथा चढ्नुका साथै केही मानिस तिब्बततर्फबाट पनि सगरमाथा चढ्छन् । तिब्बततिरबाट यसपालि १४० जनाले सगरमाथा चढ्ने भएका छन् ।
यति धेरै पर्वतारोही जम्मा हुँदा त्यसको खतरनाक दुष्परिणाम पनि आउने देखिएको छ । यसले वातावरणमा नकारात्मक असर पर्छ ।
तर पैसा लिएर जसलाई पनि पर्वतारोहणको अनुमति दिएर नेपाल सरकारले व्यापार नै ठूलो कुरा मानेको जस्तो देखिन्छ । पर्वतारोहीको संख्या सीमित राख्ने विषयमा उसले सोचेकै देखिँदैन ।
यो वर्ष सगरमाथा चढ्ने अनुमति दिएर सरकारले ४० लाख अमेरिकी डलर कमाइसकेको छ ।