
सुर्खेत- चालु आर्थिक वर्ष (२०७५/०७६)मा सुर्खेतका १५४० जनालाई रोजगार प्राप्त हुने भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका मध्ये १५४० जनालाई रोजगारी दिन भनेको पाइएको छ ।
सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो । बजेटको व्यवस्था कार्यान्वयनका लागि सरकारले यही आर्थिक वषभित्र १ लाख ६ हजार जनालाई ३० दिन बराबरको रोजगारी दिन लागेको हो ।
सुर्खेतको सबैभन्दा बढीले रोजगारी पाउने स्थानीय तहमा वीरेन्द्रनगर नगरपालिका रहेको छ । कम पाउनेमा भने चिंगाड गाउँपालिका छ । वीरेन्द्रनगर नगरपालिकाले ४५१ जना तथा चिंगाडले ६८ जनालाई रोजगारी दिन अनुमति पाएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका कामदारले सबैभन्दा धेरै कोटा प्राप्त गरेका छन् । ४५१ जनाले एक महिनासम्म रोजगारी पाउने भएका छन् भने त्यसकालागि मन्त्रालयले एक करोड सशर्त अनुदान दिने भएको छ । सो अनुदानका कारण नगरमा मजदुरले १३ हजार ५४० दिन प्रत्यक्ष रोजगारी पाउने भएका छन् । ज्याला बापत मजदुरले पाउने रकम सत्तरी लाख हुनेछ ।
चिंगाड गाउँपालिकाले सुर्खेतमा सबैभन्दा कम ६८ जनालाई रोजगारी दिनेछ । त्यसका लागि सरकारले सशर्त रुपमा १५ लाख बजेट दिएको छ भने मजदुरको ज्याला बापत १० लाख ५० हजार खर्च हुनेछ । समग्रमा सबै मजदुरले २०३१ दिन काम गर्नुपर्नेछ ।
यस्तै गुर्भाकोट गाउँपालिकाले ४६ लाख रुपैयाँ सशर्त अनुदान पाउनेछ भने ज्याला बापतको रकम ३२ लाख २० हजार खर्च हुने र त्यसबाट २०८ जनाले रोजगारी प्राप्त गर्ने बताइएको छ । जसबाट नगरपालिकामा ६ हजार २२८ दिन काम हुनेछ ।
पञ्चपुरी नगरपालिकामा १४० जनाले रोजगारी प्राप्त गर्ने भएका छन् । ३१ लाख सशर्त अनुदान पाएको नगरपालिकाले २१ लाख ७० हजार ज्यालामा खर्च गर्ने भएको छ । जसबाट नपामा मजदुरले ४१९७ काम गर्नुपर्ने छ ।
भेरीगंगा नगरपालिकाका १९४ जनाले रोजगारी पाउने भएका छन् । ४३ लाख सशर्त अनु्दान पाएको नपाले ३० लाख १० हजार ज्यालामा खर्च गर्दै मजदुरलाई ५८२२ दिन रोजगारी दिनेछ ।
लेकबेशी नगरपालिकाका १४० जनाले रोजगारी पाउने भएका छन् । त्यसका लागि सरकारले ३१ लाख बजेट सशर्त अनुदान दिनेछ भने कामदारले ४१९७ दिन काम गर्न पाउनेछन् । २१ लाख ७० हजार रुपैंया ज्याला बापत मजदुरले पाउने भएका हुन् ।
चौकुने गाउँपालिकाले १०४ जनालाई रोजगारी दिँदा १६ लाख १० हजार खर्च गर्नुपर्ने छ भने सशर्त अनुदान स्वरूप २३ लाख रकम प्राप्त गर्ने छ । जसबाट सबै मजदुरले ३ हजार ११४ दिन ज्यालादारी गर्नुपर्ने छ ।
बराहताल गाउँपालिकाले १२२ जनालाई रोजगारी दिन २७ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । त्यसबाट मजदुरले प्राप्त गर्ने ज्याला १८ लाख ९० हजार रहेको छ भने गाउँपालिकामा मजदुरले ३ हजार ६५६ दिन काम गर्नु पर्नेछ । सिम्ता गाउँपासलकाले २५ लाख अनुदान पाएको छ । जसबाट कामदारले पाउने रकम १७ लाख पचास हजार हुन आँउछ । जम्मा ११३ जना कामदारले एक महिनासम्म रोजगारी पाउनेछन् । सिम्ताका मजदुरले ३ हजार ८३५ दिन रोजगारीमा खर्च गर्नुपर्नेछ ।