०३ असार २०८३, बुधबार

प्रदेश पाँच र कर्णालीका सांसदबीच अनुभव आदान-प्रदान

बैशाख ३०, २०७६
प्रदेश पाँच र कर्णालीका सांसदबीच अनुभव आदान-प्रदान

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमवार प्रदेश नम्बर पाँचका उपसभामुख सहितको टोली र कर्णाली प्रदेशका सभामुख सहितको टोलीबीच अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संघीयतालाई सफल बनाउन प्रदेशलाई बलियो बनाउनुपर्ने प्रदेशसभा सदस्यहरुको भनाई छ । संघीयता कार्यान्वयनको मुख्य मेरुदण्ड प्रदेश भएकाले प्रदेशलाई बलियो बनाएर जानुपर्नेमा दुवै प्रदेशका सांसदहरुले सहमति जनाएका हुन ।

५ नम्बर प्रदेश र कर्णाली प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको अनुभव साटासाट गर्ने क्रममा उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सबैले स्वाभिमान बचाउन एक अर्को प्रदेशले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘एक्लाएक्लै हिडे गन्तव्यमा पुग्न सकिदैन,’ उनले भने, ‘प्रदेश सरकारलाई जबसम्म बलियो बनाउन सकिदैन तबसम्म संघीयता सफल रूपमा, प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिदैन ।’ उनले संघीयतको रूप नै प्रदेश संरचना भएको बताए । संघीय व्यवस्थालाई नयाँ युग भएको भन्दै यसले गहन जिम्मेवारी दिएको उनको भनाइ छ ।

संघीयतालाई असफल बनाउन संघीयता विरोधीहरु लागिरहेको बताउँदै प्रदेश सरकार, प्रदेशका सबै संरचना विरोधीहरुलाई निरुत्तर पार्ने गरी काम गर्न र इमान्दारितापूर्वक जिम्मेवारी बहन गर्न लागि पर्नुपर्नेमा जोड दिए ।

उनले स्थानीय तहमा त्यति काम नहुने र संघीय सरकारसँग जनताको सहज पहुँच नहुने बताउँदै सभामुख शाहीले प्रदेश सरकार नै वास्तविक जनताको सरकार भएको दाबी गरे । अनुभव साट्नेक्रममा ५ नम्बर प्रदेशकी उप–सभामुख कृष्णी थारुले अन्तरप्रदेशको कामकारवाही र अनुभव आदान प्रदान गर्ने उद्देश्यले आफुहरु कर्णालीमा पुगेको बताईन् ।

‘यो एक वर्ष प्रदेश सरकारका लागि कानुन निर्माण गर्ने बर्ष थियो,' 'उनले भनिन्, ‘कानुनी दौरानमा अघि बढ्दा कर्णालीमा भएको अनुभव र हाम्रो प्रदेशमा भएको अनुभव साटासाट गरौँ र अहिले सवैजना सिक्ने र सिकाउने क्रममा भएको हुँदा केही हदसम्म सहज हुने विश्वास सहित यहाँ आएका छौँ ।’

उनले कर्णाली प्रदेश र पाँच नम्बर प्रदेश सहकार्य गर्नुपर्ने बताउँदै आपसी हितका लागि प्रदेश सभा तयार रहेको बताईन । ‘सवै भन्दा पहिले कर्णालीले राजधानी र प्रदेशको नामाकरण गरेर टुंगो लगाएको छ । त्यो विषय हाम्रा लागि सिक्ने अवसर पनि हुने छ,’ उनले भनिन् ।

कर्णालीका प्रदेश सांसद अर्थ लेखा समितिका सभापति रहेका दिनबन्धु श्रेष्ठले पनि संघीयता कार्यान्वयनमा अलमल देखिएको बताए । तीन वटै तहका सरकारविच तालमेल नमिल्दा संघीयता कार्यान्वयनमा अलमल देखिएको बताए ।

‘संघ, प्रदेश र स्थानीयबीच तालमेल नमिल्दा संघीयता कार्यान्वयनमा अलमल देखिएको छ,' उनले भने, ‘प्रदेश जुन गतिमा अघि बढ्नुपर्ने थियो । त्यो गतिमा बढेको देखिदैन । संघीयता सफल बनाउन प्रदेश बलियो बनाउन आवश्यक देखिन्छ ।’

पहिलो पटक आफ्नो अनुभव साट्न कर्णाली पुगेका प्रदेश ५ का सांसद दधिराम न्यौपानेले संघीयता कार्यान्वयन हतारमा भएको बताए । ‘संघीयता कार्यान्वयनलाई अर्थपूर्ण बनाउने भनेकै प्रदेश हो,' उनले भने, ‘प्रदेश दृढतापूर्वक अघि बढे संघीयताको कार्यान्वयन सफल हुनेमा कुनै शंका छैन् ।’

यदि प्रदेश बलियो नभए संघीयताले सार्थकता नपाउने उनको तर्क थियो । अर्थ, उद्योग, तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले प्रदेशमा अहिले समस्याको चाङ लागेको बताए । प्रदेशमा समस्या देखिएकाले संघीयतामा पनि समस्या देखिएको उनको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्