
काठमाडौं – सरकारले बजेट निर्माणको तयारी टुंगोमा पुर्याउन लागेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने प्रावधानलाई उचाल्ने देखिएको छ ।
प्रतिनिधि सभामा मंगलवार आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्व बजेट) छलफलमा भाग लिँदै कांग्रेस प्रमुख सचेत बालकृष्ण खाणले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने पूर्ववर्ती शेरबहादुर देउवा सरकारको निर्णय कार्यान्वयनको माग गरेका हुन् ।
‘नेपालका ५२ जिल्लामा आम मानिसको औसत आयू ६५ वर्षभन्दा तल छ, ६५ वर्षका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने पूर्ववर्ती सरकारको निर्णय कायम गरियोस्,’ खाणले भने, ‘मौलिक अधिकार कार्यान्वयका लागि अशक्त नागरिकलाई भत्ता दिने देउवा सरकारको निर्णय बजेटमार्फत कार्यान्वयन होस् ।’
पूर्व बजेट छलफलमा भाग लिँदै आइतवार पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले समेत ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने देउवा सरकारको निर्णय कार्यान्वयनको माग गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वृद्धभत्ता बढाउने तयारी गरिरहेको चर्चाबीच कांग्रेसले ६५ वर्षे उमेर हदलाई उचालिरहेको छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत हुने प्रावधान रहेको छ ।