
काठमाडौं – धनुषवाण हानेर तीनजना जर्मनहरूलाई मारिएको घटनामा मृतकहरूले मध्यकालीन लोककथा र हातहतियारमा रुचि राख्ने गरेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । कुल पाँचवटा हत्या भएकोमा मृतकको अटोप्सी गर्दा हत्या र आत्महत्याको सम्झौता गरिएको पाइएको छ ।
तीनजनाको हत्याको रहस्यको अनुसन्धान गरिरहेको प्रहरीले एउटा होटलको कोठामा दुईजना पीडितको अन्तिम इच्छापत्र भेटेको छ । त्यहाँ लछारपछार भएको वा अन्य व्यक्तिको संलग्नता रहेको कुनै संकेत पाइएको छैन ।
तीनै लाशहरू शनिवार पास्साउ शहरको एक होटलमा फेला परेपछि जर्मनहरू अनौठो घटनाबाट छक्क परेका छन् । यसअघि सोमवार दुई महिला विट्टिन्गेन शहरमा मृत अवस्थामा फेला परेका थिए ।
अत्यधिक बिक्री हुने बिल्ड दैनिकले पीडितहरूमा मध्ययुगप्रति आकर्षण रहेको अनि तरवार लडाईं, मध्यकालीन हातहतियार तथा फलामलाई सुन बनाउने काममा रुचि देखाएको लेखेको छ ।
अटोप्सी रिपोर्टले पास्साउ होटलको कोठामा भेटिएका दुई पीडित डबल बेडमा हातमा हात राखेर पल्टिरहेको अवस्थामा प्रहरीले देखेको थियो । टोर्स्टेन नामक पुरुष र कर्स्टिन नामक महिलाको टाउको र मुटुमा वाण हानिएको पोस्टमार्टममा थाहा भयो ।
उनीहरूको इच्छापत्र पनि त्यही कोठामा फेला परेको प्रहरीले बतायो ।
अर्की महिला ३० वर्षीया फरिना चाहिँ भुइँमा लडिरहेकी थिइन् र उनको घाँटीमा वाण लागेको थियो ।
स्थानीय अभियोन कार्यालयले यो अनुरोध गरिएको हत्या र आत्महत्याको मुद्दा भएको बताएको छ । फरिनाले पुरुष र महिलालाई वाण हानेको अनि पछि आफैंलाई प्रहार गरेको संकेत पाइएको छ ।
एजेन्सी