२३ जेठ २०८३, शनिबार

सिमेन्ट उद्योगको जग्गा अतिक्रमणकारीबाट मुक्त

सिमेन्ट उद्योगको जग्गा अतिक्रमणकारीबाट मुक्त
फाइल फोटो

उदयपुर- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ ।

उदयपुर सिमेन्ट उद्योग आसपासको उद्योगको स्वामित्वमा रहेको जग्गा र सगरमाथा लोकमार्गअन्तर्गत आसपासका जग्गामा केही अतिक्रमणकारीले रातिको समयमा टहरा तथा घर निर्माणकार्य शुरू गरेपछि मंगलवार प्रहरीले हस्तक्षेप गरेर टहरा निर्माणका सामग्री कब्जा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

केही दिनदेखि निरन्तर रूपमा उद्योगको स्वामित्वमा रहेको जग्गा कब्जा हुन थालेपछि झण्डै चार बिघा क्षेत्रफल जग्गामा टहरा धमाधम निर्माण गर्ने र राति–राति केही अतिक्रमणकारी आएर जग्गा कब्जा गर्न थालेको उद्योग प्रशासनले आफूहरुलाई सूचना गरेर जग्गा बचाउन सहयोगको लागि अनुरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेर जग्गाको सुरक्षा गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए ।

उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार उद्योगको स्वामित्वमा रहेको गाईघाट–कद्माहा–सगरमाथा सडकमार्गको जलजले सडक आसपासका चार बिघा जग्गा केही अतिक्रमणकारीले अतिक्रमण गर्दै रातिको समयमा भौतिक संरचना निर्माण शुरु गरेको थाहा पाएपछि आफूले प्रहरी प्रशासन गुहारेको बताए । 

उद्योग आसपास जलजलेस्थित गाईघाट–कद्माहा–सगरमाथा सडकखण्डको दायाँबायाँ क्षेत्रमा सिमेन्ट उद्योगको २० औं बिघा जग्गा छ । उक्त जग्गामा अतिक्रमणकारीले पटक–पटक अतिक्रमण गर्ने प्रयास गर्दै आए पनि प्रहरी प्रशासनले हस्तक्षेप गरेर सुरक्षा गर्ने गरेका कारण कब्जा गर्न सफल भने हुन नसकेको सिमेन्ट उद्योग प्रशासनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्