
काठमाडौं –बुधवार दिउँसो उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको कार्यकक्ष बाहिर तनाव भयो ।
नेपाली कांग्रेस निकट कर्मचारीहरू सरुवा र पदस्थापनमा असन्तुष्टि जनाउँदै मन्त्रालय गएका थिए ।
कांग्रेस निकट कर्मचारीले शुरूमा मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई भेटे । सचिवलाई भेटेपछि उनीहरू मन्त्रीलाई भेट्न मन्त्रीका निजी सचिवको कार्यकक्षमा पुगे ।
मन्त्रीका निजी सचिव प्रेम आचार्यको टेबल ठटाएर चर्को स्वरमा कराउन लागे ।
कांग्रेस कर्मचारीहरूले कर्मचारीको पदस्थापनामा आर्थिक चलखेल भएको आरोप लगाए । कार्यकक्षबाहिर चर्काचर्की परेको सुनेपछि मन्त्री मातृका यादव कार्यकक्ष बाहिर निस्किए ।
‘बहिरको हल्ला सुनेपछि मन्त्रीज्यू बाहिर आएर किन कराएको भनेर सोध्नुभयो ?’ निजी सचिव आचार्यले लोकान्तरसँग भने ।
मन्त्रीले नचाहिने कुरा नगर्नुस् भनेपछि भागेको उनको दाबी छ ।
मन्त्रालयका एक कर्मचारीका अनुसार त्यहाँ हातहालाहाल भने भएको थिएन ।
कांग्रेस निकट कर्मचारीको आफ्नै दाबी !
कांग्रेस निकट कर्मचारी युनियनका नेता विश्वबन्धु रेग्मी भने मन्त्रीले नै आफूहरूलाई धकेलेको जिकिर गर्छन् ।
के भने रेग्मीले ?
पदस्थापन बदनियत र आर्थिक चलखेलका आधारमा भयो भनेर गुनासो गर्न हामी गएका थियौं । यो करीब साढे ३ बजेतिरको कुरा हो । पहिले सचिवज्यू (यामकुमारी खतिवडा)सँग कुरा गर्यौं । त्यसपछि मन्त्रीज्यूको निजी सचिवकोमा गयौं । हामीले अनियमितताको प्रमाण पेश गरेपछि मन्त्रीज्यू बाहिर आउनुभयो । हामीलाई धकेल्नुभयो । ३/४ जनाको हातमा रगत नै आएको छ ।