काठमाडौं, पुस ३– भारत– पाकिस्तान सीमावर्ती पञ्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेको गुल्मी बडागाउँ तीनका एक युवक पाकिस्तानको कराँचीस्थित ल्याण्डी जेलमा थुनामा रहेको पाइएको छ । आजको
कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

माछा मार्दै जाँदा सामुद्रीक सीमा थापा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एकअर्का देशका नागमिरकलाई कहिले भारतीय त कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेका छन् । तर, मछुवाको भरीयामात्रै बनेर काममा गएका ३३ वर्षे यमबहादुर सार्की भने आफू नेपाली भएको पहिचान नै जुटाउन नसकेर महिनौंदेखि जेलमा थन्किएका छन् ।
दैनिकी बढीमा ५ सय भारु कमाउने लोभमा मछुवारको साथ लागेर जहाजमा माछा भरियाको काम गरिरहेका सार्कीसहित ८० जनाको समुहलाई पाकिस्तानी सुरक्षा प्रहरीले गत फागुन दोस्रो साता डिउ भन्ने स्थानबाट पक्राउ गरेको थियो ।
‘छोरो भारतको पञ्जावतिर बनिबुतो गर्न गइरहन्थ्यो, होटलमा काम गर्छु भन्थ्यो’, यमबहादुरका बाबु अमरबहादुरले गुल्मीको बडागाउँबाट फोनमा भने, ‘ऊ पाकिस्तानको जेलमा परेको भन्ने त उसैले जेलभित्रबाट लेखेको पत्र बढेर पो थाहा पाइयो । ’