बुटवल- पुरानो राष्ट्रिय गान (श्रीमान् गम्भीर...) बजाएको आरोपमा रूपन्देहीमा दुई युवा पक्राउ परेका छन् । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष पृतम केसी र शाही युवा शक्ति नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा सो आरोपमा पक्राउ परेका हुन् ।
उनीहरूले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएका थिए । उनीहरूले गएको वैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित एक सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिलबहादुर मल्लले उनीहरूलाई कार्यक्रमको भोलिपल्ट (२९ गते) पक्राउ परी अभद्र व्यवहार गरेको मुद्दा चलाइएको बताए । केसी र विश्वकर्माको परिवारले उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।
पृतमकी श्रीमती शक्ति क्षेत्री र शाही युवा शक्ति नेपाल रुपन्देही उपाध्यक्ष सुनिता पक्राउ परेका आफ्ना श्रीमानलाई तत्काल रिहा गर्न आग्रह गरे । शाही युवा शक्ति नेपाल नवलपरासीका अध्यक्ष मिलन श्रेष्ठले पूर्वराष्ट्रिय गानमाथि सरकारले प्रतिबन्ध नलगाएकोले सो बजाएको अभियोगमा अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउन नमिल्ने बताउँदै उनले पक्राउ परेका दुवै जनालाई तत्काल रिहा गर्न माग गरे ।