काठमाडौं – इन्डियन प्रिमियर लीगको १२औं संस्करणको शीर्ष ५ स्कोररमा भारतका दुई ब्याट्स्म्यान र शीर्ष ५ बलरमा तीन बलर भारतीय छन् ।
तर यस सीजनमा खेलेका केही भारतीय खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । विश्वकपका लागि भारतीय टीममा छानिएका विजय शंकर, कुलदीप यादव र केदार जाधवको प्रदर्शन राम्रो रहेन ।
विजय शंकर
सनराइजर्स हैदराबादका अलराउन्डर विजय शंकर विश्वकपका लागि भारतीय टोलीमा छानिएका छन् । उनले आईपीएलमा खेलेको १५ म्याचमा २०.३३ को औसतले २४४ रन र जम्मा एक विकेट हात पारे ।
केदार जाधव
उनी आईपीएलको अन्तिम चरणमा घाइते भएका थिए । घाइते हुनुअघि उनले १४ म्याच खेल्न पाए तर निराशाजनक प्रदर्शन रह्यो । उनले १८ को औसतले जम्मा १६२ रन बनाए ।
कुलदीप यादव
२४ वटा एकदिवसीयमा ५० विकेट हात पारेका कुलदीप यादवले यसपालिको आईपीएलमा कोलकाता नाइट राइडर्सका तर्फबाट ९ म्याच खेले र जम्मा चार विकेट हात पारे ।
यीबाहेक आईपीएलमा फ्लप भएका अन्य भारतीय खेलाडी यी हुन् ः
पृथ्वी शा
दिल्ली क्यापिटल्सका तर्फबाट खेल्दै उनले १६ म्याचमा ३५३ रन बनाए तर उनको औसत जम्मा २२.०६ रह्यो । पहिलो टेस्ट म्याचमा शतक लगाएका पृथ्वीले आईपीएल१२ मा जम्मा दुईपटक मात्र ५० को स्कोर कटाए ।
अम्बाती रायडु
चेन्नई सुपरकिंग्सका यी ब्याट्स्म्यानले १७ म्याच खेले तर २३.५० को औसतले जम्मा २८२ रन बनाए ।
सुरेश रैना
चेन्नईको तर्फबाट खेल्ने सुरेश रैनाले यसपालि १७ म्याचमा २३.९३ को औसतले ३८३ रन मात्र बनाए । उनी दुईपटक चेन्नईको कप्तान बने अनि दुवै म्याच चेन्नईले हा–यो ।
उनीहरूबाहेक युसुफ पठान, अक्षर पटेल, स्टुआर्ट बिन्नी र उमेश यादव पनि आईपीएल २०१९ मा फ्लप रहे ।
एजेन्सी