२७ जेठ २०८३, बुधबार

ध्रुवीकरणका कारण बंगालमा भाजपालाई फाइदा हुने तृणमूल कांग्रेसको आँकलन

ध्रुवीकरणका कारण बंगालमा भाजपालाई फाइदा हुने तृणमूल कांग्रेसको आँकलन

काठमाडौं – भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको चुनावको पूर्वसन्ध्यामा पश्चिम बंगालको सत्ताधारी पार्टी तृणमूल कांग्रेस (टीएमसी) ले भारतीय जनता पार्टीको ध्रुवीकरण प्रयास सफल हुने लक्षण देखेको छ ।

वाममोर्चा लगभग पत्तासाफ हुने अनि धरातलीय स्तरमा भाजपा बलियो बन्ने अनुभव टीएमसीले गरिरहेको छ । 

राज्यमा लोकसभाका ४२ सीट छन् र अन्तिम चरणमा नौ सीटमा आइतवार मतदान हुँदैछ । अघिल्लो चुनावमा सत्ताधारी टीएमसीले ३४ सीट जितेको थियो तर यसपालि त्यही प्रदर्शन दोहोरिने विषयमा पार्टी विश्वस्त छैन । 

टीएमसीका एक वरिष्ठ नेताले यसपालिको चुनावमा वामपन्थी समर्थक मतदाताको भूमिका महत्त्वपूर्ण हुने बताए । उनीहरूले नै ममता बनर्जीको नेतृत्वमा रहेको टीएमसीको प्रदर्शनलाई निर्धारण गर्ने ती नेताको भनाइ छ । 

सन् २०१४ को लोकसभा चुनावमा टीएमसीको कुल भोट शेयर ३९.०५ प्रतिशत थियो । भाजपाले भने १७.०२ प्रतिशत भोट पाएको थियो । 

यसपालि टीएमसीले बंगालमा ३० सीट जित्ने आशा गरेको छ तर १० प्रतिशत मात्र पनि कम्युनिस्टको भोट भाजपालाई गयो भने २५ सीटमा खुम्चिइने आँकलन पनि गरेको छ । अर्थात् अघिल्लो चुनावको तुलनामा पार्टीले ९ सीट गुमाउन सक्ने स्थिति पनि छ । 

वामपन्थी नेताहरूले आफैंले समर्थकहरूलाई भाजपाका लागि मतदान गर्न भनिरहेको राय टीएमसीले बनाएको छ । वाममोर्चा आफैंले टीएमसीलाई हराउन नसक्ने भएकाले भाजपालाई सहयोग गर्न सक्छ । 

त्यसमाथि भाजपाले धार्मिक तथा जातीय ध्रुवीकरण प्रयास गरेर हिन्दूबहुल १५ क्षेत्रमा फाइदा उठाउन सक्ने र दश सीटसम्म जित्न सक्ने टीएमसीको आँकलन छ । 

चुनाव प्रचारका क्रममा विभिन्न स्थानमा हिंसा भएका छन् र प्रदेश अहिले खराब अवस्थामा छ । भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहको रोड शोमा पनि हिंसा चर्कियो । बंगालका महापुरुष ईश्वरचन्द्र विद्यासागरको प्रतिमा पनि यस हिंसामा तोडियो ।

त्यसपछि चुनाव आयोगले अभूतपूर्व कदम उठाउँदै पश्चिम बंगालमा एक दिनअघि नै बिहीवार राति १० बजेबाट चुनाव प्रचारमा रोक लगायो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्