१३ असार २०८३, शनिबार

वर्षात्अघि नै बन्ने भए नारायणगढ–मुग्लिन सडकका पुल

वर्षात्अघि नै बन्ने भए नारायणगढ–मुग्लिन सडकका पुल

नारायणगढ– मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका चारमध्ये तीन वटा पुल तोकिएको समयअघि नै सम्पन्न हुने भएका छन् । एउटा पुल भने निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार दासढुङ्गा, खानी र मौरी खोलाको पुलको निर्माणकार्य ८१ प्रतिशत सम्पन्न भएको छ । दासढुङ्गाको १५ मिटर, खानीको २५ मिटर र मौरीको पुल १५ मिटर लामो रहेको छ ।

तीन वटै पुलको ढलान कार्यसम्पन्न भएको उहाँले बताउनुभयो । ती पुलबाट सडक जोड्ने ठाउँमा कालोपत्रे, रेलिङ् र रङ्ग रोगनका काम मात्र बाँकी रहेका छन् । खनालले अगष्ट सम्ममा सक्नुपर्ने सो पुल जुलाईमानै सकिने गरी काम भएको जानकारी दिए । लामा कन्ट्रक्सनले रु १३ करोड ६६ लाखमा बोलपत्र सकार गरी काम गरेको हो ।

विसं २०७४ को कात्तिकबाट पुल निर्माणको काम शुरु भएको थियो । सङ्गै ठेक्का लागेको जलबिरे खोलाको ८० मिटर लामो पुल भने ४८ प्रतिशत मात्र काम भएको छ । पुलको दुई तर्फको पिल्लर उठेको खनालले बताए ।

वर्षातको समयमा काम गर्न कठिन हुने भएकाले ‘सेन्टिङ्’ गरेर ढलान गर्ने काम वर्षातपछि हुनसक्ने देखिएको छ । सो पुल रौताहा कन्ट्रक्सनले रु १४ करोडमा आउँदो डिसेम्बरसम्ममा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सो सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का दिइएको थियो । ती पुल ११ मिटर चौडाइका रहेका छन् । अन्य पुल पनि ठेक्का दिने प्रक्रियामा रहेकाछन् ।

salt training

कमेन्ट गर्नुहोस्