३१ जेठ २०८३, आइतबार

प्रधानाध्यापकलाई छोराको विवाह प्यारो, एक महिनादेखि विद्यालय बाहिर

प्रधानाध्यापकलाई छोराको विवाह प्यारो, एक महिनादेखि विद्यालय बाहिर
सांकेतिक तस्वीर

डोल्पा- त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् ।

प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उनकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन् । त्यस्तै अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन् ।

थापाले अघिल्लो वर्षसमेत आठ महिना विद्यालय नआएर तलब खाएको स्थानीयले बताएका छन् । प्रधानाध्यापक र उनकी श्रीमती छोराको विवाहमा महिना दिनअघि गएको र अहिलेसम्म विद्यालय नआएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्न नेवारले बताए । शिक्षक विद्यालयमा नआउँदा दैनिक पढाइ प्रभावित हुँदै आएको छ ।

विद्यालयमा नियमित पढाइ नहुँदा र शिक्षकको लापरवाहीको सिकार हुँदा यहाँ पढ्ने विद्यार्थी नजिकै रहेको त्रिपुराकोट मावि मदुमा गएर पढ्न बाध्य भएको विद्यार्थी राम थापाले बताए । प्रधानाध्यापक र उनको श्रीमतीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

विद्यालयमा नपढाउने शिक्षकलाई तलब कसरी दिइन्छ त ? राससको प्रश्नमा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढाले भने, 'प्रक्रियाबद्ध रूपमा विद्यालय र वडा कार्यालयबाट सूचना र प्रमाण पेश गरेमा तत्काल त्यस्ता शिक्षकको तलब रोकिने छ ।'

स्थानीय सरकार गठन भएसँगै स्थानीय सरकारले सबै हेर्दै आएकाले विद्यालय अनुगमनमा समस्या देखिएको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताए । यो त प्रतिनिधिमूलक घटना मात्र हो, डोल्पाका अधिकांश विद्यालयमा शिक्षकले विद्यालयमा पढाउने भन्दा पनि व्यक्तिगत काममा समय खर्चिने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्