काठमाडौं – लोकसभा चुनावको सातौं तथा अन्तिम चरणमा पञ्जाबका सबै १३ सीटमा आइतवार भोटिङ जारी छ ।
पञ्जाबमा आम आदमी पार्टी (आप) को उत्थान र पतन भएको देखिन्छ । कुनै समय आप पञ्जाबमा एक गम्भीर राजनीतिक शक्तिका रूपमा उदाएको थियो । तर अब उसको पहिचान परिवर्तनको प्रतिनिधि भन्दा पनि केही व्यक्तिमा सीमित दलमा खुम्चेको छ ।
सन् २०१४ को लोकसभा चुनावमा चार सीट जितेपछि आपले सन् २०१७ को विधानसभा चुनावमा सत्तारूढ हुने सपना देखेको थियो । तर तीन वर्षपछि उसको सपना ध्वस्त भयो किनकि उसले आरम्भमा गरेको वाचामा खरो उत्रिएन ।
हुन त आप अहिले पनि मुख्य विपक्षी हो र मालवा क्षेत्रमा उसको पकड बलियो छ । तर आन्तरिक कलह र स्थानीय नेताले पार्टी छोडेपछि पार्टी तीव्र गतिमा पतन भयो ।
ग्रामीण क्षेत्रमा अघिल्लोपटक आपलाई भोट दिने धेरैजसो भोटरलाई पार्टी आफ्नो लाइनबाट भड्किएको अनुभव हुन थालेको छ । पञ्जाबमा कांग्रेस र अकाली–भाजपाको ध्रुवमा बाँडिएको राजनीतिमा तेस्रो शक्तिका लागि भरपूर अवसर थियो । सन् २०१७ मा आपले जितेमा पञ्जाब बाहिरको कसैले आएर नेतृत्व गर्ने अनुमान गरिएको थियो । मतदाताले यो कुरा मन पराएनन् ।
यसपालि लोकसभा चुनावमा संगरूरबाहेक सबै सीटमा आप प्रतिस्पर्धामा आउन सकेको छैन । आपले जुन वैकल्पिक राजनीतिको आशा जगाएको थियो, पार्टीका गल्तीका कारण त्यो धूलोमा मिसिएको मानिसहरूको आँकलन छ । संगरूरमा चाहिँ बहालवाला सांसद भगवन्त मान फेरि चुनावमा छन् ।
पञ्जाबको मतपरिणामको असर दिल्लीमा पनि देखिन सक्छ । सन् २०२० को आरम्भमा दिल्लीमा विधानसभा चुनाव हुँदैछ । अघिल्लो विधानसभा चुनावमा आपले ७० मा ६७ सीट जितेर प्रचण्ड बहुमतले सरकार बनाएको थियो ।
राज्यका चुनावमा स्थानीय मुद्दाको महत्त्वपूर्ण भूमिका हुन्छ तर राष्ट्रिय चुनावमा तिनको खासै भूमिका हुँदैन । पञ्जाब विधानसभामा २० सीत जितेर आप प्रमुख विपक्ष त छ तर यसले लोकसभा चुनावमा उसलाई खासै फाइदा नदिन सक्छ ।
एजेन्सी