
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित समयनाथ माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनाल जैसीलाई रू २१ लाख ३९ हजार ६०५ पैसा चार विगो असुलउपरका लागि माग दावी गरेको छ । आयोगले आज माग दावीसहित आरोपपत्र विशेष अदालत काठमाडौँमा दायर गरेको छ ।
खनालले विद्यालय व्यवस्थापनका विविध विषयमा अनियमितता गरेको भन्दै सो बिगो भराउन माग दावी गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल र विद्यालयका वर्तमान प्रधानाध्यापक गिरिराज गैरेसँगको मिलेमतोमा विद्यालयको सम्पूर्ण क्रियाकलाप तथा सञ्चालनमा लापरवाही गर्दै आएको र विभिन्न निकायबाट आएको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।
तत्कालीन प्रधानाध्यापक खनालले महायज्ञमा सङ्कलित रकम हिनामिना गरेको, दरबन्दीका शिक्षकलाई अनियमित तवरले तलबभत्ता खुवाएको र विद्यालयमा दरबन्दीका शिक्षक बढी हुँदाहुँदै निजी स्रोतमा शिक्षक राखी विद्यालयलाई हानि पु¥याएको भन्ने उजुरी परेको थियो । त्यसमा छानबिन हुँदा अनियमितता पाइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । विद्यालयका शिक्षक दधिराम न्यौपाने र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष भुसालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि गर्दै आयोगले जनही रु छ लाख सात हजार ७० रुपैयाँ पैसा ८६ बिगो भराउन माग गरेको छ ।