काठमाडौं –गृहमन्त्री रामबहादुर थापा 'बादल'ले पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाको विषयमा अनुसन्धान भइरहेको जवाफ सदन समक्ष दिएका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा गृहमन्त्री थापाले पाँचथरको मिक्लाजुङ- ३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धान भइरहेको बताएका हुन् ।
सोही गाउँपालिकाको वडा नम्बर ८ मा एक व्यक्तिको शव झुण्डिएको अवस्थामा फेला परेको र ती व्यक्तिसहित १० जनाकै शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी गृहमन्त्री थापाले दिएका छन् ।
घाइते भएकी किशोरीको दमकमा उपचार भइरहेको जानकारी समेत उनले दिएका छन् ।
त्यसक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले घटना पारिवारिक कलहसँग सम्बन्धितजस्तो देखिएको बताए ।
'पारिवारिक कलहसँग सम्बन्धित छ भन्ने कुरा आएको छ, अनुसन्धान जारी छ,' गृहमन्त्री थापाले भने ।
सांसदहरूले त्यही परिवारमा केही दिनअघि नूनमा शिशा मिसाइएको पाइएको भन्दै त्यसको अनुसन्धान किन भएन भन्ने प्रश्न समेत गृहमन्त्री थापालाई सोधेका थिए ।
जवाफमा गृहमन्त्री थापाले उक्त सूचना यसअघि गृहमन्त्रलयसम्म नआएको बताए ।
पाँचथरको मिक्लाजुङ- ३ का बमबहादुर फियाक र धनराज शेर्मको परिवारका ९ जनाको सोमवार राति विभत्स हत्या भएको थियो । फियाक र शेर्मा नाताले ज्वाइँ/ससुरा हुन् ।
बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिम मिक्लाजुङ- ८ मा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
घटनामा माखिमकै संलग्नता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
पढ्नुहोस्, यो पनि :
पाँचथर हत्याकाण्ड : ‘आत्महत्या’अघि मानबहादुरले एकाबिहानै ५ हजार मागेको त्यो ‘अन्तिम कल’ !
भतिजाको बयान : घरज्वाइँ नबस्दा सम्बन्धविच्छेदको प्रक्रिया, अंशमा कुरा अड्किएपछि ...