काठमाडौं– सुन्धारास्थित काठमाडौं मलका कस्मेटिक व्यापारीहरूले बदमासी गर्ने गरेको पाइएको छ ।
काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मलका व्यापारीहरूले बिक्रीका लागि राखिएका कस्मेटिक सामानको मूल्य जथाभावी लिएर बदमासी गर्ने गरेको पाइएको हो ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको अनुमगनपछि व्यापारीको बदमासी बाहिर आएको हो । व्यापारीहरूले उपभोक्ता संरक्षण ऐन विपरीत बिक्रीका लागि राखिएका वस्तुको खरीद र बिक्री बिल नराखेको पाइएको हो । ‘खरीद बिक्री बिल आफूसँग राख्नु पर्ने हो,’ अनुमगन टोलीका एक अधिकारीले भने, ‘त्यो राख्ने गरेको पाइएन । त्यो नराख्नुको अर्थ जति पनि नाफा खान पाउनु पर्यो भन्नु हो कि होइन ?’
व्यापारीले वस्तु तथा सेवाको खरीद बिक्री बिल नराख्नु भनेको मनपरी गर्न पाउनुपर्ने रहेको र सो कार्य उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत रहेको ती अधिकारीको भनाइ थियो ।
उपभोक्ता संरक्षण एने २०७५ को दफा १५ अनुसार बिक्रेताले बिक्री प्रयोजनका लागि खरीद गरेको वस्तु तथा सेवाको खरीद र बिक्री गरेको मूल्यको बिल आफूसँग राख्नुपर्छ । उक्त खरीद बिक्री बिल अनुगमन निरीक्षकले माग गरेको व्यापारीले उपलब्ध गराउनुपर्छ । वाणिज्य विभागका अधिकारीहरूले बुधवार अुनमगमनका क्रममा खरीद बिक्री बिल माग गरेको काठमाडौं मलका व्यापारीले उपलब्ध गराउन नसकेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ अनुसार जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार काठमाडौं मलको रस्मिलाज फेसियल हाउस एण्ड ब्यूटी पार्लरलाई १० हजार जरिवाना गरिएको छ । त्यस्तै फेसियल हाउस, चुलेक्स ब्यूटी सैलुन एण्ड स्किन केयर, श्यामाज ब्यूटी पार्लर लगायतका ७ वटा व्यावसायिक फर्मलाई जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।