२४ असार २०८३, बुधबार

सामूहिक हत्याकाण्डः निर्मला हत्याकाण्डपछि सचेत प्रहरी

जेठ ८, २०७६
सामूहिक हत्याकाण्डः निर्मला हत्याकाण्डपछि सचेत प्रहरी

 पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्याले अहिले देशलाई नै स्तब्ध पारेको छ । अपत्यारिलो घटनाले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् ।

    उक्त घटना भएको केही समयपछि घटनास्थल नजिकै सोही गाउँपालिका–७ लिम्बाका ३१ वर्षीय मानबहादुर माखिमले आत्महत्या गरेपछि घटना फिल्मी शैलीमा झैँ थप रहस्यमय बनेको छ । यद्यपि प्रारम्भिक अनुसन्धान र प्रमाणले भने घटना पारिवारिक कलहका कारण भएको र आत्महत्या गर्नेबाटै हुन पुगेको देखिएको प्रहरीको दाबी छ । आज राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापालेसमेत प्रारम्भिक तथ्यलाई पुष्टि हुने गरी पारिवारिक बेमेलकै कारण घटना भएको देखिएको बताउनुभयो । उहाँले घटनाको सूक्ष्म अध्ययन भइरहेकाले दोषी पहिचान हुने आश्वासनसमेत दिनुभयो । 

    घटना घटाउनमा मानबहादुर एक्लै थिए वा अरु पनि संलग्न थिए भन्नेबारेमा भने प्रहरीले यकीन गर्न सकेको छैन । विभत्स घटनाबाट भागेर जोखिएकी १४ वर्षीय सीता खजुमको बयानलाई नै मुख्य आधार बनाएर प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । आत्महत्या गरेका मानबहादुरको शव नजिकै रगत लागेको खुकुरी, टिसर्ट, लाइट फेला परेकाले पनि अनुसन्धान उनीमाथि नै केन्द्रित गरेको छ । प्रमाणले उसैले घटना घटाएको जस्तो देखिने तर सबै कोणबाट अनुसन्धान भइरहेकाले अनुसन्धानपछि मात्रै सबै कुरा खुल्ने पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकामबाट घटनास्थल झण्डै ५५ किलोमिटर दक्षिण पश्चिममा पर्छ । ग्रामीण कच्ची बाटोबाट त्यहाँ पुग्न सकिन्छ ।

    जिल्लास्थित प्रहरी कार्यालय, सङ्घीय प्रहरी एकाइ धरान, प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली अनुसन्धानमा खटिएको छ । अनुसन्धानमा कुकुरसमेत परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज न्यौपाने ल्याब टेष्टमा झुण्डिएर मरेका व्यक्तिको कपडामा लागेको रगत र घटनास्थलमा देखिएको रगत मेल खायो भने घटना उनैले घटाएको पुष्टि हुने भएकाले सबै कोणबाट अनुसन्धान जारी रहेको बताउनुहुन्छ । उहाँले आजै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट शव परीक्षण गरी आफन्तलाई बुझाइएको बताउनुभयो । 

    आत्महत्या गरेका मानबहादुरको ससुरा र साढुका परिवार घटनामा परेका छन् । ससुरा बमबहादुर फियाखसहित परिवारका चार र साढु धनराज शेर्माको परिवारका पाँच जनाको विभत्सरुपमा हत्या भएको हो । जेठ ६ गते राति सुतिरहेका बेला घटना भएकाले र प्रतीकार गर्नसक्ने मान्छेसमेत नहुँदा उनीहरु दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

    सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शरदकुमार खत्रीले पारिवारिक झगडाले भयानक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनुभयो । उहाँ पनि मङ्गलबार दिनभर घटनास्थलको अनुसन्धानमा सक्रिय हुनुहुन्थ्यो । अनुसन्धानमा समस्या नआओस् भनेर यसपटक घटनाको प्रकृति मुचुल्का उठाउँदा चिकित्सकको टोलीसमेत लगेको थियो । शव परीक्षण रिपोर्टले मानबहादुरले आफैँ झुण्डिएर आत्महत्या गरेको पुष्टि भएको छ । उत्पन्न हुनसक्ने भ्रम चिर्नका लागि पनि प्रहरीले घटनास्थलमा चिकित्सक टोली लगेको थियो ।

    मलेसिया गएर फर्किएका मानबहादुरको विवाह मनकुमारी फियाखसँग विसं २०६८ मा भएको थियो । मलेसियामा रहँदा नै पारिवारिक किचलो शुरु भएको बताए पनि के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनले परिवारका अन्य सदस्यलाई पैसा पठाउने गरे पनि श्रीमतीलाई दिने गरेका थिएनन् । पारिवारिक कलहले श्रीमती माइतमा गएर बसेकी थिइन् । श्रीमती घर जान नमानेपछि उनीहरुबीच पारपाचुकेको प्रक्रिया चल्दै थियो । प्रहरी नायब उपरीक्षक कुँवरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको बुझिएको बताउनुभयो ।  

अनुसन्धान साँघुरियो ः प्रहरी प्रवक्ता 

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सूक्ष्मरुपमा अनुसन्धान भइरहेकाले अनुसन्धान साँघुरिँदै गएको बताउनुभयो । पोखरेलले भन्नुभयो, “आत्महत्या गरेको व्यक्ति र अपराधमा परेका व्यक्तिको रिलेसनका विषयमा सूक्ष्म अध्ययन भइरहेको छ, अहिले नै यसै भन्न मिल्दैन, अनुसन्धान भने साँघुरिएको छ ।” 

    यसपाली प्रहरी अली सजक भएर अनुसन्धानमा लागेको छ । निर्मला काण्डमा अलिकती हतारिँदा परिणाम नकारात्मक निस्किएकाले पनि अहिले प्रहरी सचेत हुँदै घटनाका विवरण सार्वजनिक गरिरहेको छ । पोखरेलले आत्महत्या गर्ने व्यक्ति र मृतक परिवारका बीचमा विषय जोडिएको बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्