१२ असार २०८३, शुक्रबार

मानसरोवर जान खोज्ने २० भारतीय तीर्थयात्री पास नपाउँदा फिर्ता

मानसरोवर जान खोज्ने २० भारतीय तीर्थयात्री पास नपाउँदा फिर्ता

हुम्ला –कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् ।

सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको सन भ्याली रिसोर्टका व्यवस्थापक निमा लामाले बताए । 

प्रवेशाज्ञा अनुमतिका लागि ७५ जनाको समूहलाई चिनियाँ दूतावासमा पठाएको भएपनि दूतावासले ५५ लाई मात्र कैलाश मानसरोवर दर्शनको प्रवेशाज्ञा दिएको छ ।

सिमकोट पुग्दा दर्शन गर्न जानका लागि चिनियाँ दूतावासले प्रवेशाज्ञा नदिँदा दुःख लागेको भारतीय तीर्थयात्री रेशमले बताए ।

उनले भने, ‘हामीले दुःख मात्र पायौं, बल्लतल्ल कार्यालयको समय मिलाएर कैलाश मानसरोवर दर्शनका लागि आइयो तर प्रवेशाज्ञा पाउन सकेनौं ।’

शनिवारदेखि बुधवारसम्म हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३०३ महिला र ३५९ पुरुष गरी ६९२ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् । तीर्थयात्रीको चाप बढेपछि सिमकोट–हिल्साका लागि २ वटा सिम्रिक, २ वटा समीट र एउटा माउन्टेन गरी ५ हेलिकप्टरले बिहानदेखि बेलुकासम्म उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । 

२ हजारले लिए सीमा पास

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट चैत महिनादेखि जेठ पहिलो सातासम्म २ हजार २५८ जनालाई सीमा पास दिएको छ । यो वर्ष मात्रै जिल्ला प्रशासन कार्यालय हुम्लाले ९०२ लाई नयाँ सीमा पास दिएको र १ हजार ३५६ जनाको नवीकरण गरेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा चैत्रदेखि अहिलेसम्म २३३ जनाको नवीकरण र १७० जनाको नयाँ सीमा पास प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयले सीमा पास र नागरिकता पाउन ७ देखि ८ हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको छ । त्यहाँका स्थानीयको समस्यालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय हुम्लाले हरेक वर्ष गाउँमा पुगेर सीमा पास र नागरिकता वितरण गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्