
वीरेन्द्रनगर- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र सङ्घीयता सफल हुने बताएका छन् ।
वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको मूल स्प्रिट तीन तहका सरकारबीच समन्वय र सहकार्य नै रहेको बताएका हुन् । 'संविधानको मूल स्प्रिटलाई सबैले आत्मसात गर्दै संविधानको सही कार्यान्वयनमा जोड दिऔं,' उनले भने, 'एकले अर्कालाई फेल गराउने नभई सघाउने गरी तीन सरकार अघि बढ्नुको विकल्प छैन ।'
लगानी सम्मेलनपछि नेपालमा लगानीको आकर्षण बढेको उनको भनाइ थियो । यसका लागि सरकार पुराना ऐन, कानून सुधार गर्दै लगानीको उपर्युक्त वातावरण बनाउन लागिरहेको उनले बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान निर्माण जत्तिकै चुनौती कार्यान्वयनमा रहेको बताए । विभिन्न तर्क देखाएर प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको भन्दै उनले स्थानीय तह बलियो नभए सङ्घीयता सफल नहुने दाबी गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सरकारले लघुउद्यमको विकासमार्फत उत्पादन र रोजगारी बढाउने कार्यक्रमलाई प्राथमिकता राखेको बताइन् ।