
काठमाडौं – लोकसभा चुनाव अभियान चल्दा भाजपा अध्यक्ष अमित शाहले अबकी बार, ३०० पारको नारा दिएका थिए । त्यतिखेर यो अतिशयोक्ति जस्तो लाग्थ्यो । तर चुनावी परिणाम आएपछि यो कुरा सही भएको जस्तो लाग्छ ।
चुनाव आयोगले जारी गरेको आँकडामुताबिक भाजपा २९१ सीटमा अघि छ । यही आँकडा जीतमा परिणत भएमा भाजपाले सन् २०१४ को सर्वश्रेष्ठ प्रदर्शनको कीर्तिमान तोड्नेछ । त्यतिखेर भाजपाले २८२ सीट जितेको थियो ।
आयोगले जारी गरेको ५३७ सीटको रुझानमा कांग्रेस जम्मा ५० सीटमा अघि छ । उत्तर प्रदेशमा एसपी र बीएसपीको महागठबन्धन पनि असफल भएको छ ।
कांग्रेसका लागि यो रुझान अत्यन्तै चिन्ताजनक छ किनकि पार्टी अध्यक्ष राहुल गान्धी आफैं अमेठी सीटमा पछि छन् । पार्टीका ठूला नेता राज बब्बर, जितिन प्रसाद, आरपीएन सिंह र सलमान खुर्शीद आआफ्नो सीटमा पछाडि परेका छन् ।
लगातार दोस्रो आमनिर्वाचनमा कांग्रेस जम्मा ५० सीटतिर खुम्चिनु भनेको देशको सबभन्दा पुरानो पार्टीका लागि चिन्ताजनक विषय हो । सन् २०१४ मा कांग्रेसले जम्मा ४४ सीट जितेर नेता विपक्ष समेत पाएको थिएन । अहिले पनि उसले नेता विपक्ष नपाउने खतरा छ ।
अघिल्लो लोकसभा चुनावमा भाजपाको शानदार जीतपछि अध्यक्ष अमित शाहले अहिले नै स्वर्ण युग नआएको बताए । उनले कार्यकर्तालाई उडिसा र पश्चिम बंगालमा शानदार प्रदर्शन गर्नुपर्ने चुनौती दिएका थिए । ती दुवै ठाउँमा शानदार प्रदर्शन गरेर भाजपाले स्वर्णयुग भित्र्याएको छ ।
उत्तर प्रदेशमा भाजपा ५८ सीटमा अघि हुँदा सपा र बसपाको महागठबन्धन असफल भएको देखिएको छ । कार्यकर्ताहरूबीचको तालमेल कमजोर रहेको र भाट ट्रान्सफर सही रूपमा नभएको संकेत यसबाट प्राप्त भएको छ ।
एजेन्सी