३२ असार २०८३, बिहीबार

सहमतिअनुसार कालोपत्रे नभएको भन्दै पुनः आन्दोलन गर्ने बौद्धबासीको चेतावनी

सहमतिअनुसार कालोपत्रे नभएको भन्दै पुनः आन्दोलन गर्ने बौद्धबासीको चेतावनी
फाइल फोटो

काठमाडौं- निर्माण कम्पनीले गरेको ६ बुँदे सहमति अनुसार कालोपत्र नगरेको भन्दै बौद्ध व्यापार संघ लगायतले पुनः आन्दोलन चेतावनी दिएका छन् ।  

टुसालदेखि बौद्ध गेटसम्म कालोपत्रे गरेको भएपनि सहमति अनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्रे गर्नुपर्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार संघका अध्यक्ष दिपक चौलागाईंले बताए ।

गत वैशाख २६ गते भएको सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्मको सडकमा कालोपत्रे गर्नुपूर्व गरिने सबबेस, बेस र साइड ड्रेनको काम वैशाख २७ गतेबाट शुरू गर्ने सहमति भएको थियो ।

ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले सहमति अनुसार काम अगाडि नबढाएको भन्दै बौद्ध व्यपार संघ र स्थानीयले ठेकेदार कम्पनीलाई तत्काल काम अगाडि बढाउन पटक–पटक माग गरेका थिए । 

बिहीवार बौद्ध व्यपार संघ, स्थानीयर युवासहितको टोलीले त्रिपुरेश्वरमा रहेको ठेकेदार कम्पनी युनाइटेड विल्डर्सको कार्यालयमा पुगेर सहमति अनुसार काम नभएको भन्दै ध्यानार्कषण गराएका हुन् । 

अध्यक्ष चौंलागाई भन्छन्, 'वैशाख २७ गतेबाट बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नको लागि त्यसपूर्वको गुर्नपर्ने सडकको काम अगाडि बढाउने सहमती भएको थियो । तर १४ दिन वितिसक्दा पनि ठेकेदार कम्पनीले कालोपत्र गर्ने काम अगाडि बढाएको छैन । 

ठेकेदारले टुसाल देखी बौद्ध गेटसम्मको बाटो कालोपत्र गरेर पन्छिन खोजेको भन्दै सम्झौतापत्रमा भएको सहमति अनुसार जोरपाटीसम्म कालोपत्र नगरे पुनः आन्दोलन गर्ने बौद्धको स्थानीय बिनिता कोइराला बताउँछिन् ।

सम्झौता पत्रमा ठेकेदार कम्पनी युनाइटेड विल्डर्सका प्रमुख तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअधयक्ष शकुन्तला लाल हिराचनले जोरपाटीसम्म कालोपत्र गर्ने, कालोपत्र गर्दा बिग्रेको खानेपानीको पाइप, ढल निर्माण गर्ने भन्दै हस्ताक्षर गरेका थिए । 

यसअघि चावहिल–साँखु सडकखण्डमा ठेकेदारले कालोपत्र नगरेको भन्दै ५०० जनको संख्यामा रहेका बौद्धका व्यापारी, स्थानीय र युवाले सो सडकखण्डको यातायात नै अवरुद्ध गरी आन्दोलन गरेका थिए । 

विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सडककै कारण ग्राहक घटेर सयौं व्यवसायी आफ्नो व्यवसायबाट विस्तापित हुने अवस्था आएको भन्दै बौद्धका जयराम बजगाँईले दुःखेसो पोखे । 

सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म सडक २२ मिटर चौडा गरी चार लेनको बनाउने योजना ल्याएको थियो । योजना अनुसार काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो  ।

कुल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीहरूले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन । -आदित्य दाहाल/रासस


 

salt training

कमेन्ट गर्नुहोस्