२३ असार २०८३, मंगलबार

सट्टा शिक्षकको नाममा सरकारी स्रोतको दुरुपयोग, अख्तियारले चलायो मुद्धा

सट्टा शिक्षकको नाममा सरकारी स्रोतको दुरुपयोग, अख्तियारले चलायो मुद्धा

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माँझखर्क प्राथमिक विद्यालय बाग्लुङका तत्कालीन प्रधानाध्यापक विजयबहादुर थापाले सट्टा शिक्षकको नाममा सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरेको छ । 

    सो विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा विसं २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापानमा रहेको भए पनि विसं २०७३ फागुनसम्मको तलबभत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको पाइएको छ । 

    अस्थायी शिक्षिका थापा लामो समयसम्म विद्यालयमा नरहेको अवस्थामा बिदा स्वीकृत नगराएको, सोको जानकारी साविक जिल्ला शिक्षा कार्यालय, बाग्लुङलाई जानकारी नदिइ आकाश थापा र अस्मिता घर्तीलाई सट्टा शिक्षक नियुक्ति गरी रु दुई लाख ८१ हजार ३०१ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी गरेको छ । 

    सट्टा शिक्षक आकाशले गैरकानूनी तवरले चन्दा थापाको नामबाट तलब निकासा माग गरेको, हाजिरकापीमा विसं २०७३ असोज मसान्तसम्मको नक्कली हाजिर गरी सरकारी रकम लिन र खान मतियारको भूमिका निर्वाह गरेको आरोप लगाउँदै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

    यस्तै आयोगले जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ तरकारी जोन पर्सामा कार्यरत कार्यालय प्रमुख वीरेन्द्रप्रसाद सिन्हासहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    आयोगले लेखापाल सत्यनारायण सहनी, सवइञ्जिनीयर राकेशकुमार महतोले सामान रु एक लाख ४७ हजार ३०२ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समिति पर्साका अध्यक्ष रामेश्वर महतो, निर्माण व्यवसायी रामलाल राउत र सन्नी यादवविरुद्ध मुद्दा दायर गरिएको छ । निर्माण व्यवसायीसँगको मिलेमतोमा प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्राटुक्रा पारी कोटेशनबाट काम गराई सार्वजनिक खरीद ऐन नियमावलीको विपरीत हुने काम गरेको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्