
काठमाडौँ - रोजगारी नपाएर दिनहूँ हजारौँ युवा रोजगारीको खोजीमा भौँतारिरहेका बेलामा स्याङ्जाकी अनिता गन्धर्व भने मादलमा आफ्नो भविष्य खोज्दै छिन् ।
पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको नजिकै रहेको घरमा २१ वर्षीया अनिता मादल बनाएर राम्रो आम्दानी गर्न सफल भएकी छिन् ।
अनिताको दैनिकी बिहानदेखि साँझसम्म मादल बनाउने र खरी लगाउँदैमा बित्ने गर्छ । मादलमा खरी लगाउँदै गर्दाको अवस्थामा भेटिनुभएकी अनिताले पहिला लजाउँदै कुरा गर्न अलि अप्ठेरो मानिन् । केही बेरको कुराकानीपछि खुलेरै आफ्नो व्यवसायका बारेमा बताइन् ।
घरमा यत्तिकै बस्नुभन्दा काम गर्दा समय कटाउन सजिलो हुने उनले सुनाइन् ।
शुरूमा अप्ठ्यारो जस्तो भए पनि काम गर्दै जाँदा अहिले आएर कमाइको राम्रो माध्यम हुनेरहेछ भन्ने बुझेपछि यसैमा अभ्यस्त हुन थालेको अनिताले अनुभव सुनाइन् । दुई वर्षदेखि मादल बनाउँदै आएकी अनिताले मासिक रु २५ देखि रु ३० हजारसम्म कमाइ हुने बताउँछिन् ।
'काम भन्ने कुरा सानो ठूलो हुँदैन यतिकै बसेर अरूको कमाइको आश गर्नुभन्दा आफूले सकेअनुसारको काम गर्दा आवश्यक खर्च जुटाउन सकिन्छ', उनले भनिन् । परिवारको आश गर्न नपर्ने र घरपरिवार चलाउन सजिलो हुने भएकाले सीपअनुसारको काम गर्दा राम्रो हुने उनको सुझाव थियो ।
अनिताले यो पेशाबाट आफू सन्तुष्ट रहेको बताइन् । कमाउनकै लागि विदेश जानुभन्दा आफ्नै देशमा घर परिवार सँगसँगै बसेर सानोठूलो आफ्नो क्षमतानुसारको काम गर्न अनिताले आग्रह गरिन् । एउटा मादल ३ हजारदेखि ५ हजारसम्ममा बिक्री हुन्छ ।
मादल बनाउन आवश्यक पर्ने सामग्रीको व्यवस्था घरपरिवारले जुटाइदिने गरेका छन् । उत्तिस, गोएलो, सिरिसलगायतको काठ र छालाको प्रयोग गरेर मादल बनाइने अनिताले बताइन् । उनको श्रीमानले ठेक्कापट्टाको काम गर्छन् । अनिताको काममा घर परिवारका सबैको सहयोग रहेको छ ।
एउटा मादल बनाउन चारदेखि पाँच दिनसम्म लाग्छ । सीप र जाँगर भए परिवार पाल्नकै लागि विदेशिनु पर्दैन भन्दै उनले आफ्नै देशमा इलम गरेर घरपरिवारको खर्च चलाउन सकिन्छ भन्ने उदाहरण देखाएकी छिन् ।